सगरमाथा संवाद कार्यक्रमलाई चुस्त–दुरुस्त बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौंमा आयोजना हुने सगरमाथा संवाद कार्यक्रमलाई प्रभावकारी र व्यवस्थित बनाउन निर्देशन दिएका छन्। सो कार्यक्रमका लागि प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा स्थापना भएको सचिवालयको निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय समुदायसमक्ष सन्देशको प्रभावकारी प्रवाह र व्यवस्थापनको चुस्टता सुनिश्चित गर्न निर्देशन दिएका हुन्।

कार्यक्रमको व्यवस्थापनका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको नेतृत्वमा व्यवस्थापन समिति गठन गरिएको छ। वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी भने सहअध्यक्षका रूपमा रहेका छन्। साथै, प्रधानमन्त्री कार्यालयका सचिवको संयोजकत्वमा सचिवालय गठन गरिएको छ।

सरकारले यो संवाद कार्यक्रममा छिमेकी देश भारत, चीन लगायत विभिन्न राष्ट्रका प्रमुखहरूलाई विशेष अतिथिका रूपमा निम्तो दिएको छ। सचिवालयका सदस्य सचिव डा. महेश्वर ढकालले कार्यक्रमको तयारीबारे छिट्टै पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएका छन्।

यसअघि, माघ ८ गते प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ को अवसरमा काठमाडौंमा सगरमाथा संवाद कार्यक्रम आयोजना गर्ने घोषणा गरेका थिए। यस कार्यक्रमको उद्देश्य जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस्तो प्रकारको संवाद आयोजना गर्नु हो।

तपाईको प्रतिक्रिया