“संसद् चिया पसल होइन” — सांसद मनिष झाको कडा चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झा ले संसद् बैठकप्रति गम्भीरता देखाउन सबै सांसदहरूलाई आग्रह गरेका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सदनलाई हल्का रूपमा नलिन चेतावनी दिएका हुन्।

उनले विगतका संसदहरू निश्चित शक्ति केन्द्रहरूको प्रभावमा चलेको टिप्पणी गर्दै त्यतिबेला संख्यालाई मात्र प्राथमिकता दिइएको र सिद्धान्त कमजोर बनेको बताए। अब भने संसद् सिद्धान्तमा आधारित हुनुपर्ने उनको धारणा थियो।

बैठकका क्रममा अगाडिको पंक्तिका सिटहरू खाली देखिएकोप्रति असन्तुष्टि जनाउँदै उनले शीर्ष नेतृत्वको उपस्थिति र सक्रियता आवश्यक रहेको बताए। उनले अहिलेको संसद् दक्षिण एसियामै उदाहरणीय हुनसक्ने उल्लेख गर्दै जनताका सवालहरूलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिए।

सांसद झाले संसद् अनुशासन, तयारी र उत्तरदायित्वको थलो हुनुपर्ने बताउँदै “मन लागे आउने, बोल्ने र जाने ठाउँ” नभएको स्पष्ट पारे। उनका अनुसार सदनलाई अध्ययन, बहस र नीति निर्माणको ‘गुरुकुल’ जस्तै बनाइनुपर्छ, जहाँ प्रत्येक सदस्य तयारीसहित उपस्थित हुनुपर्छ।

उनले जनताका आवाजलाई बेवास्ता गरिए गम्भीर परिणाम आउन सक्ने चेतावनी दिँदै सदनमा जनताको प्रश्नको उचित स्थान सुनिश्चित गर्नुपर्ने बताए।

तपाईको प्रतिक्रिया