संघीय सञ्चिति कोष दुई खर्ब घाटामा, एकै वर्षमा १५ खर्ब बढी खर्च

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ सकिँदासम्म संघीय सञ्चिति कोष दुई खर्ब रुपैयाँभन्दा बढी घाटामा पुगेको छ। अर्थ मन्त्रालयका अनुसार साउन ३२ गतेसम्म कोषको घाटा दुई खर्ब चार अर्ब रुपैयाँ पुगेको हो।

गत साउनको तुलनामा घाटा करिब २० अर्ब रुपैयाँले घटेको मन्त्रालयले जनाएको छ। साउन १ गतेको अवस्था अनुसार कोषको घाटा दुई खर्ब २४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो।

१५ खर्ब खर्च, ११ खर्ब मात्रै आम्दानी

गत आर्थिक वर्षमा सरकारले १५ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ खर्च गरेको छ। यसमा चालु खर्च, पुँजीगत खर्च र वित्तीय व्यवस्थासम्बन्धी खर्चहरू समावेश छन्। सोही अवधिमा सरकारको राजस्व संकलन भने ११ खर्ब ७८ अर्ब ८२ करोड रुपैयाँमा सीमित रह्यो।

राजस्व महाशाखाका प्रमुख उत्तरकुमार खत्रीका अनुसार विपद्, अन्तर्राष्ट्रिय परिस्थिति र आन्तरिक चुनौतीबीच पनि अघिल्लो वर्षको तुलनामा ११.३३ प्रतिशत राजस्व वृद्धि भएको हो। अघिल्लो वर्ष (२०८०/८१) मा १० खर्ब ५८ अर्ब संकलन भएको थियो।

लक्ष्यअनुसार राजस्व संकलन ९१.६० प्रतिशतमा सीमित

२०७९/८० मा संशोधित राजस्व लक्ष्य १२ खर्ब ८६ अर्ब रुपैयाँ थियो। सो लक्ष्यको ९१.६० प्रतिशत मात्र संकलन भएको मन्त्रालयले जनाएको छ। हाल चालु आर्थिक वर्ष (२०८२/८३) मा १३ खर्ब १५ अर्बको लक्ष्य तय गरिएको छ।

९५ बुँदे कार्यान्वयन मार्गदर्शन सार्वजनिक

साउन १ गतेबाट लागू भएको नयाँ बजेट कार्यान्वयनलाई प्रभावकारी, पारदर्शी र मितव्ययी बनाउन अर्थ मन्त्रालयले ९५ बुँदे विस्तृत मार्गदर्शन सार्वजनिक गरेको छ। उक्त मार्गदर्शन अनुसार:

  • सार्वजनिक खरिदसम्बन्धी बोलपत्र अब नेपाली भाषामै तयार पारिनेछ,
  • बजेट खर्चमा अनुशासन, पारदर्शिता र मूल्यांकन प्रणाली मजबुत बनाइनेछ,
  • अख्तियारी प्रयोगदेखि आयोजनाको अनुगमनसम्मका पक्षहरू स्पष्ट गरिएको छ।

अर्थ सचिव घनश्याम उपाध्यायद्वारा जारी मार्गदर्शनले बजेट कार्यान्वयनका सबै महत्वपूर्ण पक्षहरू समेटेको मन्त्रालयको दाबी छ।

तपाईको प्रतिक्रिया