श्रेष्ठ र चन्दबीच भेटवार्ता, पार्टी एकताबारे सम्भाव्यता छलफल


काठमाडौँ । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटवार्ता भएको छ।

बुधबार हात्तीवनस्थित श्रेष्ठको निवासमा दुई नेताबीच करिब एक घण्टा लामो भेटघाट र समसामयिक राजनीतिक विषयमा छलफल भएको माओवादी केन्द्र स्रोतले जनाएको छ।

भेटमा समसामयिक राजनीतिक परिस्थिति, दुवै पार्टीबीचको सम्बन्ध तथा सम्भावित पार्टी एकता सम्बन्धमा गम्भीर संवाद भएको बताइएको छ।

हालै सम्पन्न माओवादी केन्द्रको स्थायी समिति बैठकले पार्टीभित्रको आन्तरिक विवाद समाधान गर्दै समान विचारधारा भएका दलहरूसँग पार्टी एकताको पहल गर्ने निर्णय गरेको थियो। शनिबार सुरु भई सोमबारसम्म चलेको बैठकले उक्त निर्णय लिएको हो।

यसअघि पुस महिनामा सम्पन्न माओवादीको केन्द्रीय समिति बैठकले पनि नेकपालगायत समान विचार र दृष्टिकोण भएका दलहरूसँग पार्टी एकता गर्ने रणनीति तय गरेको थियो। तर, त्यसअनुसारको प्रक्रिया अघि नबढेपछि चन्द नेतृत्वको नेकपाले खासै चासो नदेखाएको भन्दै एकता प्रयास निष्क्रिय जस्तै बनेको माओवादी नेताहरू बताउँदै आएका छन्।

तर पछिल्लो भेटवार्तालाई कतिपय नेताहरूले पार्टी एकताको सम्भावनातर्फ सकारात्मक संकेतका रूपमा लिएका छन्। यद्यपि, भेटवार्ताका विषयमा औपचारिक धारणा सार्वजनिक गरिएको छैन।

तपाईको प्रतिक्रिया