शिक्षक महासंघको सरकारलाई चेतावनी : शिक्षा ऐन पास नभए सडकमा उत्रिन्छौं

फाइल तस्बिर

काठमाडौं ।विद्यालय शिक्षा विधेयक संसदमा पेस गर्न ढिलाइ भएको भन्दै नेपाल शिक्षक महासंघले सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ। महासंघले विद्यालय, शिक्षक, विद्यार्थी र कर्मचारीमैत्री शिक्षा ऐन तत्काल पारित नगरे कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको विज्ञप्तिमा असार १५ भित्र विधेयक पेस गर्ने सहमति उल्लङ्घन भएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विधेयकमा अघिल्लो आन्दोलनका सहमति उपेक्षा गरिएको दाबी गर्दै महासंघले राज्य पक्ष शिक्षाकर्मीप्रति गैरजिम्मेवार र हेपाहा व्यवहारमा लागेको आरोप पनि लगाएको छ।

महासंघले अस्थायी शिक्षकको स्थायीत्व, स्थायी शिक्षकको बढुवा, शिक्षक सरुवा, विभागीय कारबाही, ट्रेड युनियन अधिकार, द्वन्द्वपीडित शिक्षकको समस्या, र बाल कक्षा शिक्षक व्यवस्थापन लगायतका मुद्दामा पनि सरकार गम्भीर नभएको जनाएको छ।

महासंघले उचित समयमा आन्दोलनको घोषणा गरिने स्पष्ट पारेको छ।

तपाईको प्रतिक्रिया