वामपन्थी एकताका लागि सकारात्मक वातावरण बनेको प्रचण्डको दाबी

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थी शक्तिबीच सहकार्यका लागि अनुकूल वातावरण बनेको बताएका छन्।

मंगलबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो पार्टी र नेकपा (एमाले)बीच सहकार्यको प्रक्रिया औपचारिक रूपमा अघि बढिरहेको बताए।

संयोजक दाहालका अनुसार तीन दलबीचको समझदारी अझै अन्तिम निष्कर्षमा पुगिसकेको छैन। उनले प्रदेश सरकारमा सत्ता साझेदारीका विषयमा नेपाली कांग्रेससँग पनि छलफल भइरहेको जानकारी दिए।

मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी हुन जनकपुरधाम पुगेका दाहालले पार्टीको प्रशिक्षण अभियान र संगठन सुदृढीकरणलाई प्राथमिकतामा राखेर अघि बढाइने बताए।

बुधबार हुने नेकपाको मधेस प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा संयोजक दाहाल, सहसंयोजक माधवकुमार नेपाल तथा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

तपाईको प्रतिक्रिया