वाग्मती प्रदेशका २२ प्राविधिक उपसचिवको सरुवा, विभिन्न जिल्लामा नयाँ जिम्मेवारी

हेटौँडा । वाग्मती प्रदेश सरकारले प्रदेश इन्जिनियरिङ सेवाअन्तर्गत कार्यरत २२ जना प्राविधिक उपसचिवको जिम्मेवारी परिवर्तन गरेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १७ गते गरेको निर्णयअनुसार उनीहरूको सरुवा तथा पदस्थापन गरिएको हो।

सरकारको निर्णयसँगै प्रदेशका विभिन्न जिल्लामा रहेका जलस्रोत, सिँचाइ, खानेपानी तथा भूमिगत जलस्रोतसम्बन्धी डिभिजन कार्यालयमा कार्यरत प्राविधिक कर्मचारीहरूको जिम्मेवारी फेरिएको छ। उनीहरूलाई प्रदेशका विभिन्न जिल्लास्थित कार्यालयमा नयाँ जिम्मेवारी प्रदान गरिएको हो।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयअन्तर्गतका जलस्रोत तथा सिँचाइ विकास, खानेपानी तथा सरसफाइ र भूमिगत जलस्रोत विकास डिभिजन कार्यालयमा कार्यरत इन्जिनियर तथा डिभिजनल इन्जिनियरहरूको कार्यक्षेत्र परिवर्तन गरिएको प्रदेश सरकारको निर्णयमा उल्लेख छ।

नयाँ जिम्मेवारीअनुसार मनिष महर्जनलाई काभ्रेको जलस्रोत तथा सिँचाइ विकास डिभिजन, दिवाकर प्रसादलाई दोलखाको जलस्रोत तथा खानेपानी विकास डिभिजन र विनय पौडेललाई मकवानपुरको जलस्रोत तथा सिँचाइ विकास डिभिजनको प्रमुखको जिम्मेवारी दिइएको छ।

त्यस्तै, प्रकाश तिमल्सिनालाई चितवन र अमृत दाहाललाई नुवाकोटस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको प्रमुख तोकिएको छ। रुपेश महतलाई काठमाडौं, कृष्णबहादुर पाण्डेलाई सिन्धुपाल्चोक तथा निर्मल दाहाललाई सिन्धुलीको जलस्रोत तथा सिँचाइ विकास डिभिजनको जिम्मेवारी दिइएको छ।

खानेपानी तथा सरसफाइ क्षेत्रअन्तर्गत विन श्रेष्ठलाई सिन्धुपाल्चोक, सृष्टि ख्वालापालाई धादिङ, दीपक थापालाई मकवानपुर र नवीनकुमार अधिकारीलाई रामेछापस्थित डिभिजन कार्यालयको प्रमुख बनाइएको छ। यस्तै, केदार श्रेष्ठलाई चितवनको भूमिगत जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयको प्रमुखको जिम्मेवारी दिइएको छ।

यसैगरी, चार जिल्लाका डिभिजन कार्यालयमा वरिष्ठ इन्जिनियरहरूलाई निमित्त प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ। गोविन्द भुर्तेललाई रामेछाप, विजय यादवलाई नुवाकोट, दिलीपकुमारलाई रसुवा र किरण कार्कीलाई धादिङस्थित डिभिजन कार्यालयको निमित्त प्रमुख तोकिएको छ।

सरुवा तथा पदस्थापनसम्बन्धी निर्णयअनुसार वरिष्ठ डिभिजनल इन्जिनियर मनोज थापा र मेघराज अवस्थी तथा डिभिजनल हाइड्रोजियोलोजिस्ट केशव जैसीलाई प्रादेशिक ऊर्जा तथा जलस्रोत विकास समन्वय कार्यालय भक्तपुरमा खटाइएको छ।

त्यसैगरी कुलराज चालिसे र घनश्याम मिश्रलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा पदस्थापन गरिएको छ।

यस निर्णयसँगै प्रदेशअन्तर्गतका विभिन्न प्राविधिक कार्यालयको नेतृत्व र कर्मचारीको कार्यक्षेत्रमा परिवर्तन आएको छ।

तपाईको प्रतिक्रिया