वाइसिएलका पाँच पूर्वउपाध्यक्ष माओवादीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले योङ कम्युनिस्ट लिग (वाइसिएल) का पाँच जना पूर्वउपाध्यक्षलाई पार्टीको वैकल्पिक केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ। पार्टीको स्थायी समिति बैठकको निर्णयलाई शुक्रबार सर्कुलरमार्फत सार्वजनिक गरिएको हो।

वाइसिएलमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका र उमेरहदलगायत कारणले जिम्मेवारीबाट बाहिरिएका नेताहरूलाई व्यवस्थापन गर्ने क्रममा उनीहरूलाई वैकल्पिक केन्द्रीय सदस्य बनाइएको हो।

पार्टी सर्कुलरअनुसार सुजीत ढुंगाना, ज्ञानेन्द्रबहादुर गुरूङ, गगनबहादुर मल्ल, मञ्जु बम, र केहरसिंह गुरूङ वैकल्पिक केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

यसैगरी, अनेरास्ववियू (क्रान्तिकारी) का निवर्तमान पदाधिकारीहरूमध्ये केन्द्रीय प्रतिनिधिका रूपमा पहिल्यै मनोनयन भएकाहरूलाई यथावत राख्ने निर्णय गरिएको छ। बाँकी विद्यार्थी नेताहरूको सन्दर्भमा भने पूर्व विद्यार्थी कार्यदलको सिफारिसअनुसार प्रदेश सचिवालयमा सिफारिस भएकाहरूलाई त्यही संरचनामा कायम राखिने छ भने अन्यलाई प्रदेश प्रतिनिधिको जिम्मेवारी दिइने सर्कुलरमा उल्लेख छ।

साथै, पार्टी विधानअनुसार केन्द्रीय कार्यसमितिमा अधिकतम ५० प्रतिशतसम्म वैकल्पिक सदस्य मनोनयन गर्न सकिने प्रावधान भए तापनि पार्टी एकता र समायोजनको सन्दर्भमा आवश्यकतानुसार यो संख्या समायोजन गर्न सकिने निर्णय पनि गरिएको छ।

सर्कुलरमा भनिएको छ, “वैकल्पिक सदस्य थप गर्नुपर्दा सम्बन्धित प्रदेश समन्वय कार्यालयको सिफारिसका आधारमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ।”

तपाईको प्रतिक्रिया