लागुऔषधविरुद्ध सबैको साझा प्रयास आवश्यक : गृहमन्त्री लेखक

काठमाडौँ।गृहमन्त्री रमेश लेखकले नेपाललाई लागुऔषध मुक्त बनाउने उद्देश्यसहित थप प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

शुक्रबार कोटेश्वरस्थित लागुऔषध नियन्त्रण ब्युरोको कार्यालयको निरीक्षण गर्दै गृहमन्त्री लेखकले लागू औषधको उत्पादन, सञ्चय र दुरुपयोग देशका लागि गम्भीर चुनौती बनेको बताए।

उनले भने, “लागुऔषधको दुरुपयोगले सडक दुर्घटना, आत्महत्याजस्ता घटनासँगै साइबर अपराधसमेत बढाएको देखिन्छ। त्यसैले हामीले एक वर्षअघिदेखि लागुऔषध विरुद्धको महाअभियान सञ्चालन गरेका थियौँ, जसको प्रभाव देखिएको छ।”

गृहमन्त्री लेखकका अनुसार अघिल्ला वर्षहरूको तुलनामा पछिल्लो एक वर्षमा लागुऔषध नियन्त्रणतर्फ उल्लेखनीय प्रगति भएको छ। स्रोत र साधन सीमित भए पनि इच्छाशक्ति बलियो भए धेरै काम सम्भव हुने उनको भनाइ छ।

“देशको भविष्य बोकेको युवा पुस्ता नै लागुऔषधको चपेटामा परिरहेको अवस्थामा यो अभियान सबैको साझा जिम्मेवारी हो,” उनले भने, “सिर्फ कारबाही गरेर मात्रै पुग्दैन, सशक्त जनचेतना र सहकार्य आवश्यक छ।”

कार्यक्रममा गृहमन्त्रीले लागुऔषध नियन्त्रण ब्युरोलाई विभागको रूपमा स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले उक्त तयारी अघि बढाउन नेपाल प्रहरीका महानिरीक्षक दिपक थापालाई निर्देशनसमेत दिए।

महानिरीक्षक थापाले गृहमन्त्रीको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै विभागीय विकासका लागि आवश्यक पहल गरिने बताए।

तपाईको प्रतिक्रिया