लहानमा ‘घर–घरको शान, स्वच्छता अभियान’ प्रभावकारी रूपमा सञ्चालन हुँदै

लहान, साउन २६ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत २९औँ सरसफाइ तथा सुरक्षित शौचालय प्रयोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम वडा नं. १६ मा सम्पन्न भएको छ।

लहान नगरपालिकाले नगर क्षेत्रका २४ वटै वडामा रहेका करिब ८८ वटा टोललाई समेटेर सरसफाइ तथा स्वच्छतासम्बन्धी अभियान सञ्चालन गर्दै आएको जनाएको छ। सोही अभियानअन्तर्गत वडा नं. १६ मा पनि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको हो।

वडा नं. १६ स्थित मुसहर टोल जाने सडकबाट सुरु भएको अभियान नयाँ बस्ती, सदाय टोललगायत विभिन्न टोल तथा बस्ती हुँदै सञ्चालन गरिएको थियो। अभियानका क्रममा सार्वजनिक स्थलको सरसफाइ गर्नुका साथै स्थानीयवासीलाई व्यक्तिगत स्वच्छता, सुरक्षित शौचालयको प्रयोग तथा फोहोर व्यवस्थापनबारे जानकारी गराइएको थियो।

लहान नगरपालिका वडा नं. १६ र वास (WASH) युनिटको समन्वय तथा टोलस्तरीय सरसफाइ एवं स्वच्छता व्यवस्थापन समितिको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीयवासी, महिला स्वयंसेविका, जनप्रतिनिधि, युवा, समाजसेवी, सञ्चारकर्मी तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो।

अभियानका क्रममा सडक, गल्ली, सार्वजनिक स्थल तथा धार्मिक परिसरमा सामूहिक सरसफाइ गरिएको थियो। सडक तथा सार्वजनिक स्थानमा जम्मा भएको फोहोर संकलन गरी व्यवस्थापन गरिएको थियो। सहभागीले स्थानीयवासीलाई घर–आँगनदेखि सार्वजनिक क्षेत्रसम्म स्वच्छता कायम राख्न आग्रह गर्दै सरसफाइलाई दैनिक व्यवहारमा उतार्नसमेत आह्वान गरेका थिए।

कार्यक्रममा सुरक्षित शौचालयको नियमित प्रयोग, व्यक्तिगत सरसफाइ, फोहोरको उचित व्यवस्थापन तथा वातावरण संरक्षणका विषयमा स्थानीयवासीसँग प्रत्यक्ष संवाद गरिएको थियो। सहभागीले ‘शौचालय हाम्रो शान, स्वच्छता हाम्रो पहिचान’ र ‘स्वच्छ वातावरण, स्वस्थ जीवन’ लगायतका नारामार्फत स्वच्छतासम्बन्धी जनचेतना फैलाएका थिए।

लहान नगरपालिका–१६ का वडाध्यक्ष गडुलबहादुर जर्घामगरले स्थानीय समुदायको सक्रिय सहभागिताले सरसफाइ अभियानलाई प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो।

सरसफाइलाई वातावरण सफा राख्ने कार्यमा मात्र सीमित नगरी जनस्वास्थ्य, सामाजिक अनुशासन र वातावरण संरक्षणसँग जोडेर अघि बढाउनुपर्ने उहाँको भनाइ थियो। सुरक्षित शौचालयको नियमित प्रयोग, फोहोरको व्यवस्थित व्यवस्थापन तथा स्वच्छ वातावरण निर्माणमा प्रत्येक नागरिकको भूमिका महत्त्वपूर्ण रहेको उहाँले बताउनुभयो।

वडा नं. १६ लाई स्वच्छ, व्यवस्थित तथा वातावरणमैत्री बनाउने उद्देश्यले आगामी दिनमा पनि समुदायको सहभागितामा सरसफाइ तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने वडाध्यक्ष जर्घामगरले जानकारी दिनुभयो।

नगरपालिकाले सरसफाइ अभियानलाई केवल औपचारिक कार्यक्रमका रूपमा सीमित नगरी स्थानीय समुदायको व्यवहार र दैनिक जीवनसँग जोड्ने प्रयास गरिरहेको जनाएको छ। नगर क्षेत्रका विभिन्न टोल–बस्तीमा नियमित रूपमा सञ्चालन हुने यस्ता कार्यक्रमले स्वच्छता, सुरक्षित शौचालय प्रयोग र उचित फोहोर व्यवस्थापनसम्बन्धी जनचेतना विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया