लगानी र व्यवसायका अवरोध हटाउन रास्वपा प्रतिबद्ध छ : प्रवक्ता खरेल


ललितपुर — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले लगानीको सुरक्षा तथा उद्योग–व्यवसाय सञ्चालनका क्रममा देखिने अवरोध हटाउन रास्वपा र सरकार प्रतिबद्ध रहेको बताएका छन्।

ललितपुर उद्योग वाणिज्य संघद्वारा आयोजित बडादशैँ तथा दीपावलीको शुभकामना आदानप्रदान एवं नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सम्मान कार्यक्रममा बोल्दै खरेलले उद्योगी–व्यवसायीले भोगिरहेका समस्या पहिचान गरी समाधान गर्नुपर्ने बताएका हुन्।

उनले लगानीको सुरक्षा गर्ने जिम्मेवारी सरकार र राजनीतिक नेतृत्वको भएको उल्लेख गर्दै व्यवसायीलाई लगानीका लागि प्रोत्साहित गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

‘उद्योग, व्यापार र व्यवसाय गर्न तपाईंहरूलाई के समस्या छ? सांसदहरू यहाँ उपस्थित हुनुहुन्छ। लगानीको सुरक्षा गर्ने जिम्मेवारी हाम्रो हो, हामी गर्छौँ,’ खरेलले भने।

ललितपुरको आर्थिक विकासलाई गति दिन निजी क्षेत्र, सरकार र राजनीतिक दलबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। कला र संस्कृतिको नगरी ललितपुरलाई सक्षम, समृद्ध र व्यवस्थित सहरका रूपमा विकास गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको ‘ललितपुर कन्क्लेभ’ आयोजना गर्नुपर्ने प्रस्ताव पनि उनले अघि सारे।

कन्क्लेभमा ललितपुरको वर्तमान अवस्था, आर्थिक सम्भावना, लगानीको वातावरण तथा उद्योग–व्यवसायले भोगिरहेका समस्या र चुनौतीबारे छलफल गर्नुपर्ने खरेलले बताए। विभिन्न विषयमा प्रस्तुति र छलफलका सत्र सञ्चालन गरी ललितपुरको विकासका लागि साझा दृष्टिकोण तयार गर्न सकिने उनको भनाइ थियो।

कन्क्लेभबाट प्राप्त निष्कर्षलाई समेटेर ‘ललितपुर घोषणापत्र’ जारी गर्नुपर्ने प्रस्ताव गर्दै उनले उक्त घोषणापत्र ललितपुर महानगरपालिकाका प्रमुख, सांसद, सरकार तथा सम्बन्धित सरकारी निकाय र संस्थालाई हस्तान्तरण गरी कार्यान्वयनका लागि पहल गर्नुपर्ने बताए।

खरेलले प्रस्तावित अभियानको नेतृत्व ललितपुर उद्योग वाणिज्य संघले गैरराजनीतिक रूपमा गर्नुपर्ने धारणा राखे। ललितपुरको समग्र विकासका लागि सबै राजनीतिक दल, निजी क्षेत्र र सरकारी निकायबीच साझा प्रतिबद्धता र सहकार्य आवश्यक रहेको उनले बताए।

ललितपुरको कला, संस्कृति, उद्योग तथा व्यापारिक सम्भावनालाई आर्थिक समृद्धिसँग जोड्नुपर्नेमा जोड दिँदै खरेलले लगानीमैत्री वातावरण निर्माण र उद्योग–व्यवसायको विस्तारमार्फत सहरको विकासलाई अघि बढाउनुपर्ने बताए।

तपाईको प्रतिक्रिया