रौतहटको रुबी हत्या प्रकरणमा संलग्न प्रेमी लक्ष्मण पासवान पक्राउ

चन्द्रपुर (रौतहट), —रौतहटको माधवनारायण नगरपालिका–६ की २४ वर्षीया रुबीकुमारी साहको हत्या घटनामा संलग्न भएको आरोप लागेका प्रेमी लक्ष्मण पासवान पक्राउ परेका छन्।

बुधबार बिहान पासवानले आत्मदाह प्रयास गरेका थिए। उनलाई आगो लागेको अवस्थामा स्थानीयले उद्धार गरी प्रहरीलाई जानकारी दिएका थिए। त्यसपछि प्रहरी चौकी माधोपुरको टोलीले शिवनगरतर्फ जाने बाटोमा रहेको राजदेवी मन्दिर नजिकबाट उद्धार गरी उपचारका लागि गरुडास्थित बेटर नेपाल अस्पताल पुर्‍याएको प्रहरी चौकी माधोपुरका वरिष्ठ प्रहरी हवल्दार राजेश थारूले जानकारी दिए।

गरुडामा प्रारम्भिक उपचार सम्भव नदेखिएपछि उनलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन कार्कीले बताए।

पासवानले हत्या आफूले नै गरेको स्वीकृति दिँदै बनाएको एक भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ। उक्त भिडियो उनले आफ्नो शरीरमा आगो लगाउनु केही समयअघि रेकर्ड गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीका अनुसार हालसम्मको अनुसन्धानबाट रुबीकुमारी साहको हत्या लक्ष्मण पासवानले नै गरेको प्रारम्भिक पुष्टि भएको छ।

शनिबार राति रुबीको शव गौर–गंगापिपरा सडक खण्डअन्तर्गत मुडवलबामा सुटकेसभित्र फेला परेको थियो। अनुसन्धानका क्रममा शव सुटकेसमा राखेर हत्या लुकाउने प्रयास गरिएको प्रहरीको अनुमान छ।

तपाईको प्रतिक्रिया