रासायनिक मल भ्रष्टाचारमा दोषी ठहर बस्नेत तीन वर्षपछि पक्राउ

धरान । रासायनिक मल हिनामिना प्रकरणमा विशेष अदालतबाट दोषी ठहर भई फरार रहेका खगेन्द्र बस्नेत तीन वर्षपछि पक्राउ परेका छन्। आइतबार इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले रामधुनी नगरपालिका–७ निवासी बस्नेतलाई नियन्त्रणमा लिएको हो।

बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, विराटनगरको गोदाममा मौज्दात रासायनिक मल हिनामिना गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो।

२०७९ साल भदौ २८ गते विशेष अदालतले बस्नेतलाई २ वर्ष ६ महिना कैद सजाय र ९ लाख २८ हजार ६७५ रुपैयाँ जरिवाना तिर्नुपर्ने फैसला सुनाएको थियो। फैसला पछि उनी फरार थिए।

प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा गरिएको अपरेसनमार्फत उनलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी योगराज खतिवडाले जानकारी दिए।

तपाईको प्रतिक्रिया