राष्ट्रियसभा निर्वाचनमा कांग्रेसले सहकार्यको बाटो अपनाउने : कृष्ण सिटौला

काठमाडौं — नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीले अन्य राजनीतिक दलहरूसँग सहकार्य गरेर अघि बढ्ने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियसभा निर्वाचनको प्रकृति प्रतिनिधिसभा निर्वाचनभन्दा फरक भएकाले आपसी तालमेल आवश्यक हुने उल्लेख गरे। यद्यपि, प्रतिनिधिसभा निर्वाचनमा भने कांग्रेसले आफ्नै नीति, विचार र कार्यक्रमका आधारमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धा गर्ने सिटौलाको भनाइ छ।

उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्य अपरिहार्य रहेको तर प्रतिनिधिसभाको चुनावमा पार्टी आफ्नो राजनीतिक धारणा लिएर स्वतन्त्र रूपमा मैदानमा उत्रिने स्पष्ट पारे।

यसै क्रममा सिटौलाले विशेष महाधिवेशन हुने सम्भावनालाई अस्वीकार गरेका छन्। क्रियाशील सदस्यताको विषय टुंगोमा नपुग्दासम्म महाधिवेशन नहुने उनको भनाइ छ। विशेष महाधिवेशनसम्बन्धी विषय अहिलेसम्म केन्द्रीय समितिमा औपचारिक रूपमा छलफलमा नआएको र सदस्यता रुजु प्रक्रिया पनि पूरा नभएको उनले जानकारी दिए।

राष्ट्रियसभा सदस्य निर्वाचनको तयारीका विषयमा हाल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिष्ट पार्टीबीच छलफल भइरहेको छ। यद्यपि, दलहरूबीच तालमेलको स्वरूप र ढाँचाबारे अहिलेसम्म ठोस सहमति कायम हुन सकेको छैन।

यसैबीच, आइतबार नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दिल्ली प्रस्थान गर्नु अघि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए। भेटमा समसामयिक राजनीतिक अवस्था र आगामी राष्ट्रियसभा निर्वाचनमा सम्भावित सहकार्यका विषयमा विचारविमर्श भएको बताइएको छ।

तपाईको प्रतिक्रिया