‘राष्ट्रिय सहमति भए ई–भोटिङ सम्भव’: सञ्चार मन्त्री खरेल

ललितपुर — सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा राजनीतिक र राष्ट्रिय सहमति भए ई–भोटिङको व्यवस्था कम खर्चमै गर्न सकिने बताउनु भएको छ। कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान) ले शनिबार ललितपुरमा आयोजना गरेको ‘क्यान बिटुबी समिट २०२५’ मा सम्बोधन गर्दै मन्त्री खरेलले डिजिटल माध्यमबाट मतदान गर्न दबाब दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

मन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको युगमा पनि मतपत्र छापेर मतदान गर्न अर्बौं खर्च गर्नु पर्ने बाध्यता छ। अब डिजिटल माध्यमबाट कम खर्चमै मतदान गर्न सकिन्छ, त्यसका लागि दबाब दिनुपर्ने अवस्था छ।” उहाँले डिजिटल रूपान्तरणको युगमा सरकार प्रविधिमैत्री हुनुपर्नेमा जोड दिनुभयो। साथै, जेनजी आन्दोलनको भावना अनुरूप सरकारले सुशासन कायम राख्दै फागुन २१ मा प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको जानकारी दिनुभयो।

उहाँले थप भन्नुभयो, “पहिले गाउँमा बाटोको माग हुन्थ्यो, अब डिजिटल मार्गका लागि माग बढ्दैछ। मन्त्रालयमा फाइलको चाङ छ। सूचना प्रविधि क्षेत्रमा नीतिगत र संरचनागत सुधारमा मेहनतसाथ काम गरिनेछ।”

मन्त्री खरेलले आगामी निर्वाचनमा योग्य र सक्षम नेतृत्व ल्याउन क्यान महासङ्घले ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

समिटको उद्देश्य देशभरका सूचना तथा सञ्चार प्रविधि उद्यमीबीच व्यावसायिक रणनीति बनाउन, व्यवसाय सम्बन्धी जिज्ञासा समाधान गर्न, र देशको अर्थतन्त्रमा योगदान पु¥याउने हो भन्ने क्यान महासङ्घले जनाएको छ।

उहाँले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउन सरकार काम गरिरहेको बताउनुभयो। द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया–नेपाल सेन्टरको संयुक्त आयोजनामा आयोजित ‘स्टार्टअप समिट–२०२५’ मा सम्बोधन गर्दै मन्त्री खरेलले सरकारले गठन भएको तीन महिनाभित्रै एआई नीति पारित गरेको जानकारी दिनुभयो।

खरेलले भन्नुभयो, “डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अघि बढ्नु आवश्यक छ। नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर काम गर्न इच्छुक युवाहरू प्रस्ताव लिएर आउन सक्नेछन्। हामी सहकार्य र अवसर सिर्जनामा तत्पर छौँ।”

उहाँले डिजिटल मार्ग, सूचना प्रविधि र एआईमा सरकारको ध्यान रहेको उल्लेख गर्दै, युवाको आवश्यकता नीतिगत रूपमा समेटिने विश्वास व्यक्त गर्नुभयो। “राज्यले जेनजी आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरेको छ, नेपालमा जेनजीहरूको राजनीतिक चेतना विकसित भएको छ, त्यसैले परिवर्तन सम्भव छ,” उहाँले भन्नुभयो।

मन्त्री खरेलले फागुन २१ को निर्वाचनमा सूचना प्रविधिको प्रयोगले मतदान गर्न सकिने भए पनि सबै राजनीतिक दलबीच सहमति नहुँदा सम्भव नहुने उल्लेख गर्नुभयो। उहाँले सही नेतृत्व चयनको अवसरका रूपमा फागुन २१ को निर्वाचनलाई हेर्दै, युवालाई नेतृत्वका लागि तयार गर्न आग्रह गर्नुभयो।

समिटमा भारतीय पूर्वराजदूत एवं इन्डिया–नेपाल सेन्टरका अध्यक्ष मञ्जीवसिंह पुरीले प्रविधिले विश्व परिवर्तन गरिरहेको उल्लेख गर्दै, युवाको दिमागलाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल उद्योग परिसङ्घका अध्यक्ष वीरेन्द्रराज पाण्डेले स्टार्टअप मात्र नभई साना व्यवसायहरू पनि भविष्यको बलियो आर्थिक आधार बन्ने बताउनु भएको छ।

तपाईको प्रतिक्रिया