राष्ट्रपति पौडेल कतार प्रस्थान, दोस्रो विश्व शिखर सम्मेलनमा सहभागी हुने

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेल कतारको औपचारिक भ्रमणमा प्रस्थान गरेका छन्। उनी कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज बिहान दोहा प्रस्थान गरेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, नेपालका लागि कतारका राजदूत, उच्च सरकारी अधिकारी र सुरक्षा निकायका प्रमुखहरूले राष्ट्रपतिलाई बिदाई गरेका थिए। उक्त अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेललाई सम्मान गार्ड अफ अनर प्रदान गरेको थियो।

भ्रमणका क्रममा राष्ट्रपति पौडेलले कतारको राजधानी दोहामा यही कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुनेछन्। परराष्ट्र मन्त्रालयका अनुसार, राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनका अवसरमा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न उच्च व्यक्तित्वहरूसँग भेटवार्ता गर्नेछन्।

यो सम्मेलनमा विश्वभरका देशहरूले सामना गरिरहेका विकास असमानता, जनसांख्यिक असन्तुलन तथा प्रविधिक परिवर्तनका सामाजिक प्रभावजस्ता विषयमा गहन छलफल हुने बताइएको छ। सम्मेलनले सामाजिक विकासका क्षेत्रमा सहकार्य र साझेदारीको साझा प्रतिबद्धता व्यक्त गर्ने उद्देश्य राखेको छ।

संयुक्त राष्ट्रसंघमा सन् १९५५ मा सदस्य बनेदेखि नेपालले विश्वशान्ति र स्थायित्वका पक्षमा निरन्तर सक्रिय भूमिका खेलेको उल्लेख गर्दै मन्त्रालयले नेपाल हाल संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्को अध्यक्ष रहेको जानकारी दिएको छ। राष्ट्रपति पौडेल कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया