राष्ट्र बैंकले एक वर्षे २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक वर्ष अवधिको २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ (ग)’ शीर्षकअन्तर्गत उक्त ऋणपत्र जारी गर्न लागेको हो।

यस ऋणपत्रको बोलकबोल प्रक्रिया आइतबार (पुस २०) दिउँसो २ बजेसम्म अनलाइन प्रणालीमार्फत सञ्चालन हुने राष्ट्र बैंकले जनाएको छ। ऋणपत्रको ब्याजदर पनि यही बोलकबोल प्रक्रियाबाट तय गरिनेछ।

राष्ट्र बैंकका अनुसार ऋणपत्रको सावाँ २०८३ साल पुस २० गते भुक्तानी गरिनेछ भने ब्याज रकम अर्धवार्षिक रूपमा उपलब्ध गराइनेछ।

बोलकबोल प्रक्रियामा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। सहभागी संस्थाहरूले न्यूनतम ५ करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको कुल रकमसम्म, ५ करोडले भाग जाने गरी बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।

स्वीकृत बोल रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा गणना हुने भएकाले उक्त रकम अनिवार्य नगद मौज्दात (सीआरआर) मा समावेश गर्न नपाइने राष्ट्र बैंकले स्पष्ट पारेको छ। तर, वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपातको गणनामा भने सो रकम प्रयोग गर्न सकिनेछ।

ऋणपत्रको परिपक्व मितिअघि लगानी फिर्ता नहुने पनि राष्ट्र बैंकले जनाएको छ।

यसअघि राष्ट्र बैंकले पुस १४ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ (क)’ र पुस १६ गते ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ (ख)’ अन्तर्गत समान २५–२५ अर्ब रुपैयाँका एक वर्षे ऋणपत्रहरू निष्कासन गरिसकेको थियो।

तपाईको प्रतिक्रिया