राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी पूर्व उपकुलपति भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

एमआरआई मेसिन खरिदमा ६२ लाख बढी मूल्य देखाएर भुक्तानी गरिएको आरोप

दाङ, — राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. संगीता सिंह भण्डारीसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले दिएको जानकारीअनुसार प्रतिष्ठानमा एमआरआई मेसिन खरिद प्रक्रियामा अनियमितता भएको पुष्टि भएपछि विशेष अदालत, काठमाडौंमा बिहीबार मुद्दा दर्ता गरिएको हो।

मुद्दा भण्डारीसहित तत्कालीन कामु रजिष्ट्रार झन्कार लामिछाने, फाइनान्स मेनेजर कैलाश प्रसाद देव, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका बायोमेडिकल इन्जिनियर अमितकुमार चौधरी, डेपुटी फाइनान्स मेनेजर नितिन कुर्मी, शाखा अधिकृत छायाँ डिसी, श्रीराम चौधरी, आइटी अफिसर हिरालाल भण्डारी, तत्कालीन सिभिल इन्जिनियर मदन भण्डारी, वरिष्ठ सहायक अन्जु शर्मा, बायोमेडिकल इन्जिनियर सुजाता भट्टराई र लुम्बिनी हेल्थकेयर प्रालिका अध्यक्ष पोष्ट राज ज्ञवालीविरुद्ध दायर गरिएको हो।

के हो आरोप?

प्रवक्ता पौडेलका अनुसार उक्त पदाधिकारीहरूले १२ करोड ७ लाख ६० हजार ९४६ रुपैयाँ बराबरको एमआरआई मेसिन खरिद गरेको देखाएर सो अनुसारको भुक्तानी गरेका थिए।

तर अनुसन्धानका क्रममा उक्त मेसिनको वास्तविक मूल्य ११ करोड ४५ लाख रुपैयाँ मात्र रहेको पुष्टि भएको छ। यसै आधारमा, ६२ लाख ६० हजार ९४६ रुपैयाँ भ्रष्टाचार भएको ठहर गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम मुद्दा दर्ता गरिएको आयोगले जनाएको छ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ घोराही उपमहानगरपालिकामा अवस्थित मेडिकल शिक्षा संस्थान हो। पछिल्लो समय विभिन्न उपकरण खरिदमा अनियमितता भएको गुनासोपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

अब के हुन्छ?

अब विशेष अदालतमा यस मुद्दाको सुनुवाइ हुनेछ। यदि मुद्दामा दोषी प्रमाणित भएमा संलग्न पदाधिकारीहरूलाई जेल सजाय र जरिवाना दुवै हुनसक्ने कानुनी प्रावधान छ।

तपाईको प्रतिक्रिया