राप्ती नदीमा १३३ गोही छाडियो, संरक्षण चुनौती यथावत्

फाइल तस्बिर ।

चितवन – चितवन राष्ट्रिय निकुञ्जले घडियाल गोही संरक्षण अन्तर्गत गत आर्थिक वर्षमा प्रजनन केन्द्रमा हुर्काइएका १३३ वटा घडियाल गोही राप्ती नदीमा छाडेको छ। तीमध्ये दुईवटा भाले र बाँकी सबै पोथी रहेका छन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार हालसम्म प्रजनन केन्द्रमा हुर्काएर देशभरका विभिन्न नदीहरूमा २ हजार ९० वटा गोही छाडिएको छ। सबैभन्दा बढी गोही राप्ती नदीमा छाडिएको हो, जसको संख्या १ हजार ३३५ रहेको छ।

अन्य नदीहरूमा नारायणीमा ४१९, सप्तकोशीमा ११५, बबहीमा ११०, कर्णालीमा ४१, कालीगण्डकीमा ३५, शुक्लाफाँटाको चौधारामा २५ र बाँकेको राप्तीमा १० वटा गोही पुनःस्थापन गरिएको छ।

पछिल्लो तथ्यांकअनुसार, सन् २०२० मा जन्मिएका गोहीहरू नै गत वर्ष छाडिएका हुन्। यद्यपि, हरेक वर्ष गोही छाडिँदै आए पनि वास्तविक संख्या भने बढ्न सकेको छैन। निकुञ्जले २०८० सालको पुस महिनामा राप्ती र नारायणी नदीमा गोही गणना गर्दा जम्मा ३५२ वटा मात्र देखिएको थियो।

हाल घडियाल प्रजनन केन्द्रमा ७८२ वटा गोही रहेका छन्। तीमध्ये १८५ यस वर्ष कोरलिएका बच्चा हुन् भने १५३ अघिल्लो वर्षका हुन्। अन्य पुराना गोहीहरूमध्ये एउटा मात्रै भाले निश्चित गरिएको छ। बाँकीमा भाले छुट्याउन बाँकी छ।

थापामगरका अनुसार घडियाल गोही संकटापन्न अवस्थामा रहेको सरीसृप प्रजाति हो। अतीतमा पाकिस्तान, बंगलादेश, भुटान र म्यानमारसम्म पाइने घडियाल हाल नेपाल र भारतमै मात्र सीमित रहेको छ। सन् १९४० मा विश्वभर लगभग १० हजार घडियाल भएको अनुमान गरिए पनि सन् १९७० मा संख्या घटेर मात्र २ प्रतिशत बाँकी रहेको देखिएको थियो, जसपछि यसको संरक्षणमा गम्भीर चासो बढेको थियो।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना भएपछि सन् १९७५ मा कसरामा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरिएको थियो। त्यसबेला देशभरमा एक सयभन्दा कम गोही रहेको अनुमान गरिएको थियो।

घडियाल गोहीको संख्या नबढ्नुको प्रमुख कारणहरूमा मानवीय गतिविधि, नदीजन्य पदार्थको अत्यधिक उत्खनन, प्रदूषण, माछा मार्ने कार्य, र बाढीका कारण गोहीहरू सीमापारि बग्नेजस्ता समस्या रहेको थापामगरले बताए।

निकुञ्जले संरक्षण प्रयासलाई निरन्तरता दिइरहेको भए पनि प्राकृतिक वासस्थान असुरक्षित भइरहेकाले गोहीको संख्या वृद्धि अपेक्षाअनुसार हुन नसकेको संरक्षणकर्मीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया