राजदूतावास कुखुराको खोरजस्तो सानो, अवस्था गम्भीर : परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौं – परराष्ट्रमन्त्री आरजु राणा देउवाले विदेशस्थित नेपाली राजदूतावासहरूको अवस्थाबारे गम्भीर चिन्ता व्यक्त गरेकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत विनियोजनमाथि भएको छलफलमा जवाफ दिँदै उनले केही राजदूतावासहरूको संरचना वडा कार्यालयभन्दा पनि कमजोर रहेको उल्लेख गरिन्।

“कुखुराको खोरभन्दा सानो राजदूतावास”

मन्त्री देउवाले जापानस्थित नेपाली दूतावासको अवस्था अव्यवस्थित र अपमानजनक रहेको बताउँदै भनिन्, “त्यहाँ फाइलका चाङका कारण मान्छे बस्ने ठाउँ छैन। तीन लाख ५० हजारभन्दा बढी नेपाली रहेको ठाउँमा यति सानो दूतावास हुनु दुर्भाग्यपूर्ण हो। कुखुराको खोरभन्दा सानो छ।”

उनले थपिन्, “म त्यसपछि डिप्रेस्ड भएर फर्किएँ।”

मन्त्री देउवाले आफ्नो निर्वाचन क्षेत्रको वडा कार्यालय उद्घाटनको प्रसङ्ग जोड्दै भनिन्, “मेरो क्षेत्रको वडा नम्बर ४ को कार्यालय उद्घाटन गर्न बोलाइएको थियो। त्यो त एकदमै राम्रो भवन थियो, तर दूतावास त्यत्तिको पनि थिएन।”

परराष्ट्रमन्त्री देउवाले भारत (दिल्ली) र चीन (बेइजिङ) स्थित नेपाली दूतावासहरूको मर्मतसम्भारका लागि बजेट विनियोजन भइसकेको जानकारी दिइन्।

उनका अनुसार, डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) लगायतका प्रारम्भिक प्रक्रिया अगाडि बढिसकेको छ।

तपाईको प्रतिक्रिया