रमेश लेखकले भने–पत्र आएपछि मात्रै बयान दिने कि नदिने निर्णय लिन्छु

काठमाडौँ, — जेनजी आन्दोलनताकाका तत्कालीन गृहमन्त्री रमेश लेखकले सरकारले गठन गरेको जाँचबुझ आयोगले पठाएको बयानका लागि पत्र अहिलेसम्म प्राप्त नभएको बताएका छन्।

लेखकले बयान दिन जाने कि नजाने भन्ने निर्णय पत्र प्राप्त भएपछि मात्रै गर्ने स्पष्ट पारेका छन्।

जाँचबुझ आयोगले भदौ २३ र २४ गते जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न लेखकलाई मंगलबार बयानका लागि उपस्थित हुन आग्रह गर्दै पत्र पठाएको जनाएको छ। आयोगका अध्यक्ष तथा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीले पनि बयानका लागि पत्र लेखिएको जानकारी दिएका छन्।

भदौ २३–२४ गतेका घटनामा लेखक गृहमन्त्री थिए। सो क्रममा भएको मानवीय क्षति सम्बन्धमा उनका जवाफदेहिता सुनिश्चित गर्न , आयोगले बयान लिन खोजेको हो। आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बयानका लागि बोलाउने तयारी गरेको भए पनि अहिलेसम्म पत्र पठाइएको छैन।

सरकारले जेनजी आन्दोलनको क्रममा भएको बल प्रयोग र अन्य घटनाको छानबिन गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगमा अध्यक्ष कार्कीसँगै नेपाल प्रहरीका पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। आयोगको कार्यकाल सुरुमा तीन महिना तोकिएको थियो भने काम पूरा गर्न नसकिएपछि हालैको मन्त्रिपरिषद् बैठकले एक महिना थपेको थियो।

तपाईको प्रतिक्रिया