रघुगङ्गा गाउँपालिकामा बृहत् चिमखोला–पिप्ले खानेपानी आयोजना कार्यान्वयनमा, घरघरमा पानी पुर्‍याउने

म्याग्दी : रघुगङ्गा गाउँपालिकामा निर्माण हुने बृहत् चिमखोला–राँखु–भगवती–पिप्ले खानेपानी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। सङ्घीय सरकारले बजेटको स्रोत सुनिश्चित गरेपछि यो आयोजना अगाडि बढेको हो।

यस क्षेत्रका बर्सौंदेखि खानेपानीको समस्यासमेत जुझिरहेका उपभोक्तामा अब पानीको उपलब्धताका लागि आशा जागेको छ। रघुगङ्गा–७ को चिमखोला, ३ को पिप्ले र २ को भगवतीका दुई हजार सात सय भन्दा बढी घरपरिवारलाई खानेपानी सेवा पुर्‍याउने उद्देश्यले सात वर्षअघि ४७ करोड रुपियाँ लागत अनुमान गरी आयोजना अघि बढाइएको थियो।

बजेट अभाव र ठेक्का लगाउन अर्थ मन्त्रालयको स्वीकृति नपाएपछि योजना अघि बढ्न सकेको थिएन। अब, चालु आर्थिक वर्षमा सङ्घीय सरकारले बजेटको स्रोत सुनिश्चित गरेपछि आयोजना कार्यान्वयन प्रक्रियामा रहेको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय म्याग्दीका अनुसार यस आयोजनाका लागि ५० लाख रुपियाँ बजेट विनियोजन गरिएको छ।

आयोजनामा १० करोड रुपियाँको स्रोत सुनिश्चित गर्दै बहुवर्षीय ठेक्का लगाउन अर्थ मन्त्रालयले सहमति जनाएको छ। यस आयोजनालाई चार वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वानको प्रक्रिया अगाडि बढाइएको छ। रघुगङ्गा गाउँपालिका-७, चिमखोला हुँदै बग्ने बगरखोलाको मुहान मानिने खालीखोलाबाट भगवती र पिप्लेको शिर रुइसेडाँडामा मुख्य ट्याङ्की बनाइ पानी ल्याउने प्रस्ताव गरिएको छ। यसका लागि ३० किलोमिटर लामो मुख्य पाइपलाइन जडान गर्ने योजना छ।

सङ्घीय सरकारको ९० प्रतिशत र उपभोक्ताको १० प्रतिशत लागत साझेदारीमा यो आयोजना निर्माण गरिनेछ। उपभोक्ताहरूको तर्फबाट आवश्यक १० लाख रुपियाँ गाउँपालिकाले उपभोक्ता समितिको खातामा जम्मा गरिसकेको छ।

गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार, निरन्तर प्रयासबाट यो योजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। उहाँले थपे, “सङ्घीय सरकारले अहिलेलाई १० करोड रुपियाँको स्रोत सुनिश्चित गरेर ठेक्का लगाउने तयारी गरेको छ। यो ठूलो आयोजना भएकाले समय लागे पनि रघुगङ्गावासीको सपना पुरा हुनेछ भन्ने विश्वास छ।”

यो आयोजना कार्यान्वयनमा जानुपछि घरघरमा पानी आउने आशा पलाएको स्थानीयहरुले बताएका छन्।

तपाईको प्रतिक्रिया