योग र ध्यानले मन शुद्ध बनाउँछ : शिक्षामन्त्री पुन

काठमाडौँ, । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले योग र ध्यानलाई जीवनशैलीको रूपमा अपनाउन सके समाजमा सकारात्मक परिवर्तन आउन सक्ने बताउनुभएको छ। विश्व ध्यान दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले योग र ध्यानले मन शुद्ध बनाउने भएकाले समाजमा देखिने विकृति कम गर्न सहयोग पुग्ने धारणा राख्नुभयो।

उहाँले वर्तमान समयमा मन शुद्ध पार्नु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै योग र ध्यानले मानिसको सोच र व्यवहारलाई सकारात्मक दिशामा लैजाने बताउनुभयो। मन शुद्ध नभए लोभ, लालसा र घमण्डजस्ता नकारात्मक प्रवृत्ति बढ्ने र त्यसले समाजमा समस्या सिर्जना गर्ने उहाँको भनाइ थियो।

मन्त्री पुनले भ्रष्टाचार हटाउने कुनै औषधि नभए पनि योग र ध्यानले मानिसको मन शुद्ध बनाउने भएकाले दीर्घकालीन रूपमा समाज सुधारमा योगदान दिन सक्ने उल्लेख गर्नुभयो। योग र ध्यानलाई गाउँगाउँसम्म विस्तार गर्न सबै सरोकारवाला निकायले पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

योग र ध्यानलाई विद्यालय तहबाटै प्रवर्द्धन गर्न आफूले निर्देशन दिइसकेको जानकारी दिँदै उहाँले अतिरिक्त क्रियाकलापका माध्यमबाट विद्यार्थीहरूमा यसको अभ्यास गराउने योजना अघि बढाइएको बताउनुभयो। उहाँका अनुसार योग र ध्यान पढाउने विषयभन्दा पनि व्यवहारमा उतार्ने अभ्यास हो।

विद्यालयमा शुक्रबारको दिनलाई पठनपाठनभन्दा बाहिरका सिर्जनात्मक तथा अतिरिक्त क्रियाकलापका लागि प्रयोग गर्ने विषयमा पनि छलफल भइरहेको उहाँले जानकारी दिनुभयो। मन्त्री पुनले योग र ध्यानले मनलाई शान्त र शुद्ध बनाउने भएकाले व्यक्तिगत तथा सामाजिक जीवनमा सकारात्मक प्रभाव पार्ने स्पष्ट पार्नुभयो।

तपाईको प्रतिक्रिया