यो सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतिर छैन : प्रकाश ज्वाला

फाइल तस्बिर।

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वालाले सरकारले आफ्ना जिम्मेवारीहरू पूरा नगरेको भन्दै असन्तोष व्यक्त गरेका छन्। आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ज्वालाले सरकारको ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नमा नभएको बताएका हुन्।

उनले देशको अर्थतन्त्र अहिले गम्भीर संकटमा रहेको र सरकारको ध्यान यसतर्फ नलगाइएको बताए। विशेष गरी, पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति आपत्ति जनाउँदै यसलाई फिर्ता लिनुपर्ने माग गरेका छन्।

उनले भने, “सरकारले गर्नुपर्ने काम नगरी आफ्नो ध्यान जनताप्रतिको जिम्मेवारी पूरा गर्नेतिर छैन। यतिबेला भूकम्प प्रभावित क्षेत्रका जनतालाई राहत प्राप्त भएको छैन, बाढी पीडितहरूलाई पनि राहत प्राप्त भएको छैन। पुनर्निर्माण कार्य अगाडि बढेको छैन। भ्रष्टाचार व्यापक भएको छ, आर्थिक अवस्था जर्जर छ। निर्माण व्यवसायीहरूले समेत कामको भुक्तानी प्राप्त गरेका छैनन्। अर्थतन्त्र अत्यन्त संकटपूर्ण अवस्थामा छ। तर फेरि राज्यलाई थप भार पार्ने गरी पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने कानून ल्याउने तयारी गरिएको छ। यो एकदमै आपत्तिजनक छ। म यसको घोर भत्र्सना गर्दछु र सरकारलाई यो कदम तुरुन्त फिर्ता लिन आग्रह गर्दछु।”

उनले देशको आर्थिक भार कम गर्न वर्तमान पदाधिकारीहरूको सुविधा घटाउने प्रस्तावसमेत गरे। “यो वर्तमान समयमा पदाधिकारीहरूको सुविधा घटाउने बेला हो,” उनले भने, “यदि सांसदहरूको सुविधा घटाउने कुरा आउँछ भने, हामी तयार छौं। म तयार छु।”

तपाईको प्रतिक्रिया