म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार

काठमाडौं – थाइल्यान्डस्थित बैंकक नेपाली दूतावासले म्यानमारको मेवाडीबाट पाँच नेपाली नागरिकलाई उद्धार गरी नेपाल फर्काएको छ।

दूतावासका अनुसार, ती नेपालीलाई जर्बजस्ती अनलाइन स्क्यामिङ कार्यमा संलग्न गराइएको थियो, र उनीहरूलाई उद्धार गरी शुक्रबार नेपाल फर्काइएको हो। उद्धार गरिएका पाँचजनामा चार पुरुष र एक महिला छन्।

“नेपाली दूतावासले थाइल्यान्ड सरकारको सहयोगमा म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्यान्ड ल्याई चार पुरुष र एक महिला गरी जम्मा पाँचजनालाई आज (फागुन ९) नेपाल फर्काइएको छ,” दूतावासको विज्ञप्तिमा उल्लेख गरिएको छ।

बैंकक स्थित नेपाली दूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारद्वारा तोकिएका मापदण्डअनुसार मात्र श्रम स्वीकृति प्राप्त गरी विदेश जान आग्रह गरेको छ।

“कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने चाहनामा कम्बोडिया, लाओस, म्यानमार र थाइल्यान्ड जस्ता मुलुकमा वैदेशिक रोजगारीमा नजानका लागि दूतावासले सबैमा पुनः अनुरोध गर्दछ,” विज्ञप्तिमा भनिएको छ।

तपाईको प्रतिक्रिया