म्याग्दीका जिसस प्रमुख राजकुमार थापा सहकारी हिनामिनामा पक्राउ

म्याग्दीको बेनीस्थित कुमारी सहकारी संस्थामा डेढ अर्ब रुपैयाँको हिनामिनामा संलग्न रहेको आरोपमा म्याग्दी जिल्ला समन्वय समिति प्रमुख राजकुमार थापा पक्राउ परेका छन्। थापालाई म्याग्दीका प्रहरी प्रमुख भरत श्रेष्ठले आज बिहान साढे ५ बजे उनका निवासबाट पक्राउ गरेको जानकारी दिएका छन्।

सहकारी रजिष्ट्ररको कार्यालय पोखराले एक वर्षअघि गरेको छानबिनमा थापाले कुमारी सहकारीको रकम व्यक्तिगत प्रयोजनका लागि प्रयोग गरेको पाइएको थियो। छानबिन प्रतिवेदनअनुसार, थापाले सहकारीको पैसा निजी विद्यालय, घरजग्गा खरिदमा प्रयोग गरेर हिनामिना गरेका थिए। यस छानबिन प्रतिवेदनमा उक्त रकम १ अर्ब ४९ करोड रहेको उल्लेख गरिएको छ।

सहकारी रजिष्ट्ररको कार्यालयको छानबिनको आधारमा थापालाई तुरुन्त पक्राउ गरेर अनुसन्धान सुरु गर्ने सिफारिस गरिए पनि कार्यालयले थापाबारे प्रहरीमा उजुरी नगरेको थियो। यस कारण सर्बसाधारणले कार्यालयको विरोध गर्दै आएका थिए। अहिले म्याग्दी प्रहरी थापाको अनुसन्धान प्रक्रिया अघि बढाएको बताइएको छ।

तपाईको प्रतिक्रिया