म्याक्रोंले ट्रम्पको हर्मुज सैन्य प्रस्ताव अस्वीकार गरे

काठमाडौँ। फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हर्मुज जलमार्ग खुलाउन अन्य राष्ट्रले सैन्य बल प्रयोग गर्नुपर्ने प्रस्ताव अस्वीकार गरेका छन्।

दक्षिण कोरियाको भ्रमणको क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै म्याक्रोंले भने कि हर्मुजमा सुरक्षित आवागमन कायम गर्न सैन्य विकल्प उपयुक्त छैन। उनले ट्रम्पको प्रस्तावलाई अव्यावहारिक भनेका छन् र यसको सट्टा इरानसँग कूटनीतिक वार्ता मार्फत दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्।

म्याक्रोंका अनुसार यसका लागि अमेरिका, इस्राइल र इरानबीचको द्वन्द्व समाप्त हुन आवश्यक छ। इरानले स्ट्रेट अफ हर्मुज बन्द गरेपछि संसारको २० प्रतिशतभन्दा बढी पेट्रोलियम आपूर्ति प्रभावित भएको छ, जसले अन्तर्राष्ट्रिय ऊर्जा संकटको संकेत दिएको छ।

यसैबीच बेलायतले ४१ देशको सहभागितामा भर्चुअल बैठक आयोजना गरी इरानमाथि कूटनीतिक र आर्थिक दबाब बढाउने विषयमा छलफल गरेको छ। बेलायती विदेशमन्त्री यभेट कुपरले इरानको अन्तर्राष्ट्रिय जलमार्ग नियन्त्रण प्रयासको आलोचना गरेकी छन्। बैठकमा फ्रान्स, जर्मनी, इटाली, जापान, क्यानडा, दक्षिण कोरिया लगायतका देश सहभागी भए, तर अमेरिका उपस्थित थिएन।

ट्रम्प भने नेटो मुलुकहरूलाई हर्मुज क्षेत्रमा जहाज पठाएर मार्ग खोल्न आह्वान गर्दै आएका छन्, तर म्याक्रोंसहितका युरोपेली नेताहरूले कूटनीतिक समाधानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

आजै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा हर्मुजमा अन्य राष्ट्रहरूले बल प्रयोग गर्ने प्रस्तावमाथि मतदान हुँदैछ। प्रस्तावले सदस्य राष्ट्रलाई कम्तीमा ६ महिनासम्म जलमार्ग सुरक्षित गर्न आवश्यक प्रतिरक्षात्मक कदम चाल्न अधिकार दिने व्यवस्था गरेको छ। तर स्थायी सदस्य अमेरिक, रूस, चीन, बेलायत र फ्रान्ससँग भिटो अधिकार रहेकोले उनीहरूमध्ये कसैले भिटो लगाए प्रस्ताव अस्वीकार हुनेछ।

तपाईको प्रतिक्रिया