मौसमसँगै बढ्यो संक्रमण: सात दिनमै ३० जनामा कोरोना पुष्टि

काठमाडौँ – देशभर मौसम परिवर्तनसँगै कोरोना भाइरससहित रुघाखोकी, ज्वरो र फ्लुजस्ता लक्षण भएका बिरामी देखा पर्न थालेका छन्। पछिल्लो एक सातामै ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने, पुस १७ यता कूल संक्रमितको संख्या १६० पुगेको छ।

इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. चन्द्रभाल झाका अनुसार, हाल नेपाल–भारत सीमावर्ती क्षेत्रमा केही संक्रमित भेटिएका छन्। कञ्चनपुरको सीमा नाकामा भारतबाट आउने व्यक्तिमा संक्रमण देखिएको उल्लेख गर्दै, उनी भन्छन्, “हालसम्म सबैभन्दा धेरै संक्रमित बागमती प्रदेशमा भेटिएका छन्।”

📊 प्रदेशगत संक्रमित विवरण:

  • बागमती प्रदेश: १२९ जना
  • सुदूरपश्चिम प्रदेश: १७ जना
  • मधेश प्रदेश: ५ जना
  • कोशी, गण्डकी र लुम्बिनी प्रदेश: समान ३–३ जना

महाशाखाका अनुसार, संक्रमणको परीक्षणका लागि सीमा नाकाहरूमा हालसम्म ६४० थान एन्टिजेन पठाइएको छ। संक्रमणको जोखिम कायमै रहेकाले थप परीक्षण सामग्री खरिदको प्रक्रिया अगाडि बढाइएको पनि जानकारी दिइएको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा रुघाखोकी र ज्वरोका बिरामी फाट्टफुट रूपमा देखिन थालेको बताए। उनका अनुसार, “मौसम परिवर्तनसँगै फ्लुजस्ता लक्षण भएका बिरामी आउन थालेका छन्।”

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, भारतमा संक्रमणको दर बढेसँगै नेपालमा पनि त्यसको असर देखिएको हो। उनले थपे, “खोप नलगाएका, दीर्घरोगी तथा ज्येष्ठ नागरिक अझै पनि जोखिममा छन्।”

स्वास्थ्य सन्देश:

  • खोप नलगाएका व्यक्तिहरूले यथाशक्य चाँडो खोप लगाउनुपर्ने
  • दीर्घरोगी र जेष्ठ नागरिकले मास्क लगाउने, भीडभाडमा नजानु
  • लक्षण देखिएमा परीक्षण गराउनु र स्वास्थ्यकर्मीको सल्लाह अनुसार चल्नु

तपाईको प्रतिक्रिया