माधव नेपालको बयान विशेष अदालतमा सकियो, थुनछेक बहस सुरु

काठमाडौं — पतञ्जलि जग्गा प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको विशेष अदालतमा बयान सकिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित अन्यलाई प्रतिवादी बनाई मुद्दा दायर गरेपछि नेपाल अदालतमा उपस्थित भएका थिए।

नेपालको बयान सकिएसँगै अब थुनछेक सम्बन्धी बहस सुरु भएको छ। उनी पक्षबाट करिब १२० जना कानुन व्यवसायीहरूले बहसका लागि नाम दर्ता गराएका छन्। सो पक्षबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपीकृष्ण घिमिरे, गोविन्द बन्दी लगायत कानुन व्यवसायीहरूले बहस गरिरहेका छन्।

थुनछेक बहस लम्बिँदा नेपाललाई न्यायिक हिरासतमा राख्नुपर्ने अवस्था आउन सक्ने भएकाले सम्भव भएसम्म आजै निर्णय आउने गरी थोरै अधिवक्तामार्फत बहस गराउने तयारी गरिएको छ।

अख्तियारको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितको टोलीले बहस गरिरहेको छ। आयोगले जेठ २२ गते पतञ्जलि जग्गा प्रकरणमा नेपालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

तपाईको प्रतिक्रिया