माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा ३०% काम सकियो


म्याग्दी, । म्याग्दीको धवलागिरी र मालिका गाउँपालिकामा निर्माणाधीन ५३.५ मेगावाट क्षमताको माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजनामा हालसम्म ३० प्रतिशत भौतिक प्रगति भएको छ। अपर म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवर्धक रहेको यस आयोजनामा बाँध, सुरुङ र विद्युतगृह निर्माण तीव्र गतिमा अघि बढिरहेको छ।

आयोजना प्रमुख ज्योतिकुमार केसीका अनुसार, एक वर्षमा ३०.९४ प्रतिशत भौतिक र ३०.८० प्रतिशत वित्तीय प्रगति हासिल भएको छ। चार ठाउँबाट सुरुङ खन्ने काम भइरहेको छ भने कुल ५,७८९.७१ मिटर लामो सुरुङमध्ये २,३६० मिटर निर्माण भइसकेको छ। बाँध निर्माणस्थलमा ४५ प्रतिशत भौतिक प्रगति भएको छ र विद्युतगृहको उत्खनन् कार्य पनि दुई हप्ताभित्र सकिन लागेको छ।

धवलागिरी–४ खाम्लामा म्याग्दी नदीको पानीलाई सुरुङमा प्रवेश गराउन १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ। बाँध नजिक तीन वटा १५ मिटर अग्लो र १०० मिटर लामो पानी थिग्राउने पोखरी पनि निर्माणाधीन छ।

मेकानिकल र इलेक्ट्रो–मेकानिकल कार्यका लागि निर्माण कम्पनी चयन भइसकेको छ। रन अफ द रिभर प्रकृतिको यस आयोजनाको आउटलेटबाट विद्युतगृहको उचाइ १९६ मिटर छ भने पेनस्टक पाइप ५९२ मिटर जडान गरिनेछ।

विद्युतगृह मालिका–७ भारवाङमा निर्माण भइरहेको छ र वार्षिक औसत ३१५.०१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। १३२ केभी क्षमताको सबस्टेशन र १३२ केभी, १.५ किलोमिटर प्रसारण लाइन निर्माणको अध्ययन भइरहेको छ।

आयोजनाको कुल लगानी ११ अर्ब २३ करोड रुपैयाँ छ, जसमा बैंक, प्रवर्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइनेछ। पहुँचमार्ग निर्माण र सामाजिक उत्तरदायित्वका लागि ६ करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।

आयोजना प्रमुख केसीले भने, “हालसम्मको प्रगतिअनुसार आयोजना निर्धारित समय तालिकाभित्रै सम्पन्न हुनेमा विश्वस्त छौँ।”

तपाईको प्रतिक्रिया