मल खरिद गर्न पर्याप्त बजेट छैन : कृषि मन्त्री अधिकारी

काठमाडौं — कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मल खरिदका लागि पर्याप्त बजेट अभाव भएको स्पष्ट पारेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरूको जिज्ञासाको जवाफ दिँदै मन्त्री अधिकारीले मलमा उच्च अनुदान रहेको कारणले उपलब्ध बजेटले पर्याप्त मल आपूर्ति गर्न कठिन भइरहेको बताए।

उनका अनुसार,

  • युरिया मलमा ८२ प्रतिशत अनुदान,
  • डीएपी मलमा ८४ प्रतिशत, र
  • पोटास मलमा ४९ प्रतिशत अनुदान दिइएको छ।

१३ लाख टन वार्षिक मागमध्ये ६ लाख टन आपूर्तिको योजना

मन्त्री अधिकारीका अनुसार हाल नेपालको वार्षिक मल आवश्यकता करिब १३ लाख मेट्रिक टन रहेको छ। तर चालु आर्थिक वर्षमा ६ लाख टन मात्र आपूर्ति गर्ने योजना मन्त्रालयले बनाएको छ।

उहाँले खरिद गरिने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी प्रयोग हुने क्षेत्रहरूमा प्रदेश सरकारमार्फत वितरण गरिने व्यवस्था मिलाइएको जानकारी दिए।

‘मल आपूर्ति सहज बनाउन प्राथमिकता दिएको छु’

मन्त्री अधिकारीले आफू मन्त्रालयमा आएपछि मल आपूर्ति र वितरण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको दाबी गरे। उनले कानुनी र प्रक्रियागत व्यवस्थाहरू परिमार्जन गरी मल समयमा ल्याउन सार्वजनिक खरिद नियमावलीमा आवश्यक व्यवस्था मिलाइएको पनि बताए।

तपाईको प्रतिक्रिया