मन्दिर तोडफोडपछि कपिलवस्तु अशान्त, निषेधाज्ञा कडा बनाइयो

कपिलवस्तु जिल्लामा धार्मिक विवादपछि उत्पन्न तनावलाई नियन्त्रणमा लिन प्रशासनले निषेधाज्ञा जारी गरेको छ। महाराजगञ्ज नगरपालिकाको बरगदा क्षेत्रमा रहेको काली मन्दिरमा तोडफोड भएको घटनापछि स्थिति अस्थिर बनेको हो।

प्राप्त जानकारी अनुसार शनिबार बिहान नमाज पढ्ने समयमा मन्दिरमा बजिरहेको भजनको ध्वनि प्रणाली केही मुस्लिम युवाद्वारा क्षति पुर्‍याइएको आरोप छ। यस घटनापछि दुई समुदायबीच विवाद चर्किएको हो।

घटनाको विरोधमा हिन्दू समुदायका युवाहरूले प्रदर्शन गरेका थिए। उक्त प्रदर्शन नियन्त्रण गर्न सुरक्षाकर्मीले हस्तक्षेप गर्दा गोली चलाइएको र त्यस क्रममा चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा महाराजगञ्ज नगरपालिका–६ का २३ वर्षीय अरुण यादव, २१ वर्षीय महेन्द्र रैदास, २५ वर्षीय प्रदीप पासी तथा कृष्णनगर नगरपालिका–७ का २० वर्षीय भानु पासी रहेका छन्।

घाइतेमध्ये अरुण यादवको पेटमा गोली लागेकोले अवस्था गम्भीर रहेको बताइएको छ। उनलाई थप उपचारका लागि चितवन पठाइएको छ। अन्य तीन जनाको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।

प्रदर्शनकै क्रममा ७० वर्षीय काशी रैदास टाउकोमा सामान्य चोट लागेर उपचारपछि स्थिर अवस्थामा रहेका छन्।

स्थिति नियन्त्रणमा लिन जिल्ला प्रशासनले शनिबारदेखि लागू गरेको निषेधाज्ञा अझै कायम राखिएको छ। सुरुमा तोकिएको क्षेत्र विस्तार गर्दै थप स्थानमा निषेधाज्ञा लागू गरिएको प्रशासनले जनाएको छ।

जिल्ला प्रशासनका अनुसार वर्तमान अवस्थालाई सामान्य बनाउन र धार्मिक सद्भाव कायम राख्न विभिन्न राजनीतिक प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा धार्मिक अगुवाहरूसँग निरन्तर छलफल भइरहेको छ।

तपाईको प्रतिक्रिया