मधेशमा मल अभाव: युरिया सकिँदै, डीएपीले कति पुर्‍याउला राहत?


वीरगन्ज, जेनजी आन्दोलनका कारण रक्सौल र सिर्सिया सुक्खा बन्दरगाहमा रोकिएको कृषि सामग्री कम्पनीको डीएपी मल अब वीरगन्जस्थित गोदाममा भित्रिन थालेको छ। आन्दोलन शान्त भएसँगै यो मल भित्र्याउने प्रक्रिया अगाडि बढेको हो।

कृषि सामग्री कम्पनी प्रादेशिक कार्यालय वीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार ग्लोबल टेन्डरमार्फत भारतको आदित्य बिरला कम्पनी र आईपीएल कम्पनीले ल्याएको डीएपी मल क्रमशः गोदाममा भित्रिइरहेको छ।

“आदित्य बिरलाले रक्सौलमा २ वटा रेल र्‍याकमार्फत ५ हजार टन र आईपीएलले सिर्सिया सुक्खा बन्दरगाहमार्फत २ हजार ५ सय टन डीएपी ल्याएका थिए,” पाण्डेले जानकारी दिए, “तर जेनजी आन्दोलनका कारण मल गोदामसम्म ल्याउने काम अवरुद्ध भएको थियो। अहिले अवस्था सामान्य भएपछि मल भित्रिन थालेको हो।”

पाण्डेले हाल कम्पनीसँग मौज्दात रहेको ७ हजार टन युरिया मलको कोटा प्रदेश सरकारले लगाइसकेकाले मधेश प्रदेशका ८ जिल्लाका सहकारीहरूले मल लिन थालेको जानकारी दिए। “युरियाको माग अझै पनि उच्च छ,” उनले भने, “कोटा तय गरेपछि सहकारीहरूले मल लैजान सुरु गरेका छन्।”

तर कम्पनीसँग रहेको मौज्दात युरिया मल चाँडै सकिने बताइएको छ। यसका लागि कम्पनीले ग्लोबल टेन्डरमार्फत तेस्रो मुलुकबाट ३० हजार टन युरिया आयात गरिरहेको छ, जुन अहिले कोलकाता बन्दरगाहमा अनलोडिङ प्रक्रियामा छ।

पाण्डेका अनुसार सो युरिया मल असोज ९ देखि १० गतेसम्म नेपाल आइपुग्ने सम्भावना छ। तर त्यस समय दसैंको बिदा पर्न जाने भएकाले मल वितरणमा ढिलाइ हुने सम्भावना छ। “त्यति बेलासम्म युरिया मलको मुख्य माग सकिइसकेको हुन सक्छ,” उनले चिन्ता व्यक्त गरे।

हाल मधेशका अधिकांश जिल्लाहरूमा युरिया मलको चरम अभाव रहेको छ। किसानहरू कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ दुवैबाट युरिया नपाएका कारण भारतबाट पनि मल ल्याउने प्रयास गरेका थिए। तर भारत सरकारले मल निर्यातमा कडाइ गरेपछि विकल्पको रूपमा कतिपय किसानहरूले डीएपी मल प्रयोग गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया