मधेश सरकारको आवासमा प्रतिष्ठानका सदस्य मृत फेला

जनकपुर — मधेश प्रदेश सरकारको आवासीय क्षेत्र, मधेश भवन परिसरमा मधेशी सहिद प्रतिष्ठानका सदस्य नरेश यादव मृत अवस्थामा फेला परेका छन्।

धनुषा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार, अन्दाजी ४० वर्षका यादव मंगलबार बिहान मृत अवस्थामा भेटिएका हुन्। उनले बताएअनुसार, राति सुत्न गएका यादव बिहान मृत अवस्थामा फेला परेका थिए। ‘नाकबाट हल्का रगत बगेको थियो र बोमिट पनि गरेका छन्। रिपोर्ट प्राप्त भएपछि मात्र मृत्युको कारण थाहा हुनेछ,’ डीएसपी सिंहले भने।

यादव जनकपुर-चुरोट कारखानाभित्रको सरकारी निवासमा बस्दै आएका थिए र उनको बेडरुमको छेउको कोठामा १४ वर्षीय एक सहयोगी पनि थिए। उनलाई पनि प्रहरीद्वारा सोधपुछ गरिएको छ।

‘घरभित्रको अवस्था हेर्दा मृत्युको अन्य कारण देखिएको छैन,’ डीएसपी सिंहले थपे, ‘रिपोर्ट आएपछि थप अनुसन्धान हुनेछ।’ मृतक यादवको शव जनकपुरस्थित प्रादेशिक अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ।

मधेश प्रदेश सरकारले गृह, सञ्चार र कानूनी मन्त्रालयअन्तर्गत मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ, जसको उद्देश्य विभिन्न आन्दोलन र परिवर्तनका क्रममा सहादत प्राप्त गरेका सहिद परिवारलाई सहयोग पुर्याउनु हो।

तपाईको प्रतिक्रिया