मङ्सिर १ देखि सर्वोच्च अदालत पूर्णरूपमा सञ्चालनमा आउने

काठमाडौँ, । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालतले आफ्ना सम्पूर्ण सेवा र कार्य सञ्चालन पुनः सुरु गर्ने भएको छ। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडपछि सर्वोच्चले आंशिक रूपमा मात्र सेवा दिँदै आएको थियो।

सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकले आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट बचेका मुद्दा तथा अवरुद्ध सबै सेवाहरूलाई नियमित रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो।

अदालतले जारी गरेको सूचनामा भनिएको छ, “मुद्दाका मिसिलहरू नष्ट हुनबाट बचेका हुँदा, पेसी तारेख तोकिएका ती मुद्दाहरूको सुनुवाइ मङ्सिर १ गतेदेखि पूर्ववत् रूपमा सञ्चालन हुनेछ। अन्य पेसी नचढेका मुद्दाहरू कानुनबमोजिम प्रक्रिया पूरा गरी सुनुवाइ गरिनेछ।”

त्यस्तै, बैठकले सेवा अवरुद्ध भएका सुरु मुद्दा, पुनरावेदनपत्र, पुनरवलोकन निवेदन तथा दोहोर्‍याइँ पाउँ भन्ने निवेदनलगायत सबै प्रकारका मुद्दा दर्ता र सुनुवाइ नियमित रूपमा गर्ने निर्णयसमेत गरेको छ।

तपाईको प्रतिक्रिया