भोलिदेखि सार्वजनिक यातायात सेवा बन्द हुने, व्यवसायीहरूको आन्दोलनको घोषणा

काठमाडौं, जेठ १८ – सार्वजनिक यातायात व्यवसायीहरू भोलि (जेठ १९) देखि देशभर सवारी साधन थन्काएर सेवा बन्दमा जाने भएका छन्। गण्डकी प्रदेश सरकारले निजी सवारी साधनलाई राइड सेयरिङका नाममा सार्वजनिक यातायात सरह मान्यता दिएको निर्णयको विरोधमा व्यवसायीहरू आन्दोलित भएका हुन्।

विभिन्न यातायात व्यवसायी तथा मजदुर संगठनहरूले आइतबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको घोषणा गरेका हुन्। उनीहरूले सरकारको निर्णय संविधान र प्रचलित कानुन विपरीत रहेको दाबी गरेका छन्।

सार्वजनिक यातायात केन्द्रीय महासंघ, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदुर संघ, एकीकृत समाजवादी यातायात मजदुर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त रूपमा आन्दोलनमा जाने निर्णय गरेका हुन्।

व्यवसायीहरूले गण्डकी प्रदेश सरकारले नेपालको संविधानको धारा ५७(६)(३/५) र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ८(२) र दफा १२(१) विपरीत निजी सवारीलाई सार्वजनिक सेवामा प्रयोग गर्न दिएको अनुमति अस्वीकार्य रहेको बताएका छन्।

“विगतदेखि नै सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा पनि सुनुवाइ नभएको कारण हामी बाध्य भएर आन्दोलनमा उत्रिएका हौं,” विज्ञप्तिमा उल्लेख छ, “सरकारले समयमा पहल नगरेको जिम्मेवारी पनि उसैले लिनुपर्छ।”

व्यवसायीहरूका अनुसार सवारी साधनहरू भोलिबाट ग्यारेज र घरमै थन्काइनेछ। सेवा ठप्प हुँदा यात्रुहरू र अन्य सरोकारवालालाई पर्न सक्ने असुविधाको सम्पूर्ण जिम्मेवारी सरकारलाई जानुपर्ने उनीहरूको भनाइ छ।

तपाईको प्रतिक्रिया