भूकम्पीय क्षति न्यूनीकरणका लागि पूर्वतयारी अपरिहार्य: गृहमन्त्री अर्याल

काठमाडौँ, । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी अपरिहार्य भएको बताउनुभएको छ। यहाँ आज भूगोल पार्कमा आयोजित २८औँ भूकम्प स्मृतिसभामा उहाँले विपद्को सामना गर्न अन्तरसरकारी समन्वय बढाउँदै लैजानुपर्नेमा जोड दिनुभयो।

गृहमन्त्री अर्यालले स्थानीय सरकारबाट भएका प्रयासलाई संस्थागत गर्दै अघि बढाउनुपर्ने उल्लेख गर्नुभयो। “आपसी अभ्यास र अनुभवले हाम्रो क्षमता बढाउँछ,” उहाँले भन्नुभयो, “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचक लागू गरेर क्षमतालाई अझ सशक्त बनाउनु आवश्यक छ।”

सभाका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोलले समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज–उद्धार, पुनःस्थापना र पुनर्लाभको महत्वपूर्ण साधन बनाउनु पर्ने बताउनुभयो। “विपद्को प्रारम्भिक प्रतिक्रिया दिने पहिलो व्यक्ति समुदाय नै हो,” उहाँले भन्नुभयो, “महानगरपालिकालाई विपद् उत्थानशील बनाउन अन्तरसरकारी समन्वय, अनुभवको आदान–प्रदान र एकीकृत योजना अनिवार्य छ।”

कार्यक्रममा कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने, “प्रतिरोधी संरचना निर्माण गर्न रैथाने सीप उपयोगी हुन सक्छ। हाम्रा प्राचीन संरचनाले ठूला भूकम्पको कम्पन झेल्न सक्षम भएका छन्। यसलाई प्रवद्र्धन गर्नुपर्छ।”

कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका नगर सभा सदस्य, विभागीय प्रमुख, विपद् व्यवस्थापनमा सक्रिय गैरसरकारी तथा सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरू सहभागी थिए। ‘सबै तहका सरकार, सबै नागरिकको तयारी: भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित दिवस मनाइएको थियो।

विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्प र त्यसपछिका घटनाबाट अबका पुस्ताले क्षति भोग्न नपरोस् भनेर भूकम्प सुरक्षा दिवस मनाउने गरिएको हो। विगतका भूकम्पले सिकाएको पाठबाट सुरक्षित बस्ती निर्माणमा सहभागी गराउने उद्देश्यले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते दिवस मनाउन थालिएको हो।

सुरुवातमा विज्ञान तथा प्रविधि मन्त्रालयले कार्यक्रम आयोजना गरिरहे पनि, विसं २०५८ देखि गृहमन्त्रीको संयोजकत्वमा मूल समारोह समिति गठन गरी दिवस मनाउने प्रचलन सुरु गरिएको छ।

तपाईको प्रतिक्रिया