ट्रम्प प्रशासन भुटान सहित ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने तयारीमा

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इजिप्ट र जिबुटीजस्ता प्रमुख साझेदार राष्ट्रहरू समेत परेका ३६ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाउने तयारी गरिरहेको वासिङटन पोस्टलाई उद्धृत गर्दै द इन्डिपेन्डेन्ट ले जनाएको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोद्वारा हस्ताक्षर गरिएको सम्बन्धित निर्देशनपत्र (मेमो) शनिबार अमेरिकी राजदूतहरूलाई पठाइएको थियो। सो मेमोमा सूचीमा परेका देशहरूले विदेश मन्त्रालयद्वारा तोकिएका नयाँ सर्तहरू ६० दिनभित्र पूरा गर्नुपर्ने उल्लेख गरिएको छ।

विदेश मन्त्रालयका अनुसार यी देशहरूले अमेरिकी भिसा नीति तथा सुरक्षा सम्बन्धी मापदण्डहरू पूरा नगरेको आरोप लागेको छ। विश्वसनीय परिचयपत्र प्रदान गर्न असक्षम, प्रभावकारी केन्द्रीय सरकारी संयन्त्रको अभाव तथा भिसा सर्त उल्लंघन गर्ने नागरिकको संख्या उच्च हुनु जस्ता कारण सूचीमा परेका देशमाथि प्रतिबन्धको तयारी भएको जनाइएको छ।

तर, अमेरिकी भिसा सर्त उल्लंघन गरेर निष्कासनमा परेका तेस्रो देशका नागरिकहरूलाई स्वदेश फर्काउन सहकार्य गर्ने देशहरूलाई भने प्रतिबन्धबाट छुट दिने सम्भावना पनि खुला राखिएको छ।

प्रतिबन्धको सम्भावित सूचीमा अफ्रिकाका २५ देश छन्, जसमा अंगोला, बेनिन, बुर्किना फासो, केप भर्डे, क्यामरुन, आइभोरी कोस्ट, कंगो, जिबुटी, इथियोपिया, इजिप्ट, गाबोन, गाम्बिया, घाना, लाइबेरिया, मलावी, माउरिटानिया, नाइजर, नाइजेरिया, साओ टोमे प्रिन्सिपे, सेनेगल, दक्षिण सुडान, तान्जानिया, युगान्डा, जाम्बिया र जिम्बाब्वे छन्।

त्यसैगरी, केही क्यारेबियन राष्ट्र— एन्टिगुआ र बार्बुडा, डोमिनिका, सेन्ट किट्स र नेविस तथा सेन्ट लुसिया —समेत सूचीमा परेका छन्। एशियाबाट भुटान, कम्बोडिया, कीर्गिजस्तान र सिरिया रहेका छन् भने ओसिनियाबाट टोंगा, टुभालु र भानुआतु समावेश छन्।

यी सबै देशहरूले आगामी बुधबार बिहान ८ बजेसम्म प्रारम्भिक कार्ययोजना प्रस्तुत गर्नुपर्ने जनाइएको छ। यस म्यादपछि यात्रा प्रतिबन्ध लागू हुन्छ वा हुँदैन भन्नेबारे भने अमेरिकी प्रशासनले स्पष्ट जानकारी दिएको छैन।

तपाईको प्रतिक्रिया