भारतले आगामी ३६ घण्टामा सैन्य कारबाही गर्न सक्ने पाकिस्तानी मन्त्रीको दाबी

इस्लामावाद: पाकिस्तानका सूचना एवं प्रसारण मन्त्री अताउल्लाह तरारले आगामी २४ देखि ३६ घण्टामा भारतले पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्नसक्ने दाबी गरेका छन्।

तरारले आज बिहान एक भिडियो एक्स (X) मा पोष्ट गर्दै भने, “पाकिस्तानसँग एक विश्वसनीय खुफिया एजेन्सी छ, जसका अनुसार पहलगाम घटनामा निराधार र भ्रामक आरोप लगाएर भारत पाकिस्तानविरुद्ध सैन्य कारबाही गर्ने मनशाय देखिन्छ।”

पाकिस्तानी मन्त्रीले थप भने, “पाकिस्तान आफैं आतंकवादको शिकार भइरहेको छ र यस संकटलाई सही तरिकाले बुझ्न सक्दछ। हामीले विश्वका सबै प्रकारका आतंकवादी रुप र अभिव्यक्तिको सधैं आलोचना गरेका छौं।”

तरारले भारतको कुनै पनि सैन्य कारबाहीलाई निश्चित र निर्णायक जवाफ दिने चेतावनीसमेत दिएका छन्। २२ अप्रिलमा जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २७ जनाको हत्या भएको थियो, जसपछि भारत र पाकिस्तान बीचको तनावमा वृद्धि भएको छ।

तपाईको प्रतिक्रिया