बुटवलमा असुरक्षित गर्भपतन प्रकरण: दुई चिकित्सक थप पक्राउ, मृत्युपछि आक्रोश

बुटवल । असुरक्षित गर्भपतन गराएको आरोपमा प्रहरीले दुई जना चिकित्सकलाई नियन्त्रणमा लिएको छ।

पाल्पाकी गीता पाण्डेको गर्भपतनका क्रममा मृत्यु भएपछि आफन्तले दिएको उजुरीका आधारमा डा. डिबी खत्री र डा. सतिस रूपाखेतीलाई पक्राउ गरिएको हो।

यसअघि नै उक्त प्रकरणमा खगेन्द्रप्रसाद पाण्डे, सन्ध्या बस्नेत र निलम घर्ती मगरलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको थियो।

करिब १२ हप्ताकी गर्भवती पाण्डे वैशाख ५ गते श्रीमान्‌सँग बुटवलस्थित एक निजी स्वास्थ्य संस्थामा पुगेकी थिइन्। एक क्लिनिकबाट अर्कोमा रिफर गर्दै लैजाँदा लापरबाहीपूर्ण तरिकाले गर्भपतन गराउँदा उनको मृत्यु भएको आरोप लगाइएको छ।

मृतकका श्रीमान् प्रकाश पाण्डेले पाँच जनाविरुद्ध किटानी जाहेरी दिएका छन्। घटनापछि आक्रोशित आफन्तले सम्बन्धित स्वास्थ्य संस्था तथा फार्मेसीमा तालाबन्दी गर्नुका साथै केही समय सडक अवरुद्ध गरेका थिए।

हाल शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया