बालेनको वरीयता भोलि टुंग्याइने , रास्वपाले पार्टी बैठक बोलायो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भएको ‘बृहत् एकता’ सम्बन्धी सहमतिपछि पार्टीभित्र बालेनको वरीयता भोलि (पुस १४) निर्णय गरिने भएको छ।

आइतबार (पुस १३) बालेन र रास्वपा सभापति रवि लामिछानेबीच सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भएको थियो। सहमतिपत्रमा रवि लामिछाने पार्टी सभापति रहने र आगामी प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन रहने उल्लेख छ। तर, पार्टी संरचनाभित्र बालेनको औपचारिक वरीयता के हुने भन्ने विषय सहमतिपत्रमा खुलाइएको छैन।

यस विषयमा रास्वपाका प्रवक्ता मनिष झाले सहमतिपत्रमा हस्ताक्षर प्रक्रिया ढिलो रातिसम्म चलेकाले तत्काल निर्णय हुन नसकेको बताएका छन्। “सातबुँदे सहमति गर्दा राति ढिलो भइसकेको थियो, त्यसैले आज कुनै निर्णय हुन सकेन,” उनले भने, “भोलि पार्टीको बैठकमा वरीयतासहितका विषयमा छलफल गरेर टुंगो लगाइनेछ।”

यस सहमतिपछि वैकल्पिक राजनीतिक शक्तिका रूपमा उदाएको रास्वपाले पनि प्रारम्भिक चरणमै पद र भूमिकाको विषय उठाएको भन्दै केही राजनीतिक वृत्तमा आलोचना समेत देखिएको छ।

तपाईको प्रतिक्रिया