‘बल प्रयोग गर्ने कुनै निर्देशन दिएको छैन’ : पूर्व गृहमन्त्री लेखक

काठमाडौं— पूर्वगृहमन्त्री रमेश लेखकले भदौ २३ गते जेन–जी पुस्ताले आह्वान गरेको आन्दोलनका क्रममा आफूले बल प्रयोग गर्न कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्।

सोमबार सम्बन्धित छानबिन समितिमा लिखित बयान बुझाउँदै उनले आन्दोलन शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने अनुमति लिइएको विषयमा सुरक्षा समितिको बैठकमा बल प्रयोग गर्ने कुनै निर्णय नभएको उल्लेख गरेका छन्।

छानबिन समितिमा पेश गरिएको लिखित बयानमा लेखकले आफूले गृहमन्त्रीको हैसियतले सुरक्षा निकायलाई केही आधारभूत निर्देशन मात्रै दिएको जनाएका छन्। उनका अनुसार पहिलो प्राथमिकता कुनै किसिमको हताहति नहोस् भन्ने रहेको थियो। त्यसैगरी शान्ति–सुरक्षाको व्यवस्थापन समन्वयात्मक रूपमा गर्न तथा नेतृत्वविहीन आन्दोलन भएकाले सतर्कता अपनाउन आग्रह गरिएको थियो।

‘मैले बैठकमा दिएको निर्देशनको सार यही मात्र हो,’ उनले बयानमा उल्लेख गरेका छन्।

भदौ २३ गते भएको आन्दोलनका क्रममा केही आन्दोलनकारीको मृत्यु भएपछि नैतिक जिम्मेवारी लिँदै आफूले गृहमन्त्री पदबाट राजीनामा दिएको पनि उनले बताएका छन्। राजनीतिमा नैतिकताको उच्च मूल्य रहेको विश्वासकै आधारमा उक्त निर्णय लिएको उनको भनाइ छ।

लेखकका अनुसार गृहमन्त्रीलाई बल प्रयोग गर्ने, नगर्ने वा त्यसको मात्रा तोक्ने अधिकार कुनै कानुनले दिएको छैन। त्यसैले आफूले न त लिखित न त मौखिक रूपमा बल प्रयोगको आदेश दिएको दाबी गरेका छन्।

यस विषयमा सरकार प्रमुखसँग परामर्श गर्नु उपयुक्त ठानेर सुरक्षा समितिको बैठकअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीसँग समय लिएर छलफल गरिएको र बैठक सम्पन्न भएपछि दुवै जना बालुवाटार पुगेको उनले जानकारी दिएका छन्।

बालुवाटारमा भएको छलफलमा पनि सबै सुरक्षा निकायले आपसी समन्वयमा काम गर्दै सुरक्षाको उचित प्रबन्ध मिलाउनुपर्नेमा जोड दिइएको बयानमा उल्लेख छ।

भदौ २३ गते बिहान समेत नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षकसँग फोन सम्पर्क गरी कुनै किसिमको हताहति नहोस् भन्ने विषयमा सचेत गराइएको तथा यही कुरा गृह सचिवसँग पनि गरिएको लेखकको बयानमा उल्लेख गरिएको छ।

तपाईको प्रतिक्रिया