फागुन २१ को निर्वाचन लक्षित गर्दै आयोगको टोल–फ्री सेवा सुरु

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई ध्यानमा राख्दै निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर सेवा सुरु गरेको छ। आयोग परिसरमै स्थापना गरिएको उक्त कल सेन्टरमार्फत निर्वाचनसम्बन्धी जानकारी उपलब्ध गराइने छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदाता, नागरिक तथा अन्य सरोकारवालाहरूका जिज्ञासा र गुनासा सुन्ने उद्देश्यले कल सेन्टर सञ्चालनमा ल्याइएको हो।

उनका अनुसार प्रारम्भिक रूपमा कल सेन्टरले कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सेवा दिनेछ भने आवश्यकताअनुसार सेवा समय क्रमशः विस्तार गरिँदै जानेछ।

आयोगले ६ वटा डेस्कमार्फत कल सेन्टर सेवा प्रदान गर्ने जनाएको छ। टोल–फ्री नम्बर ११०२ मा फोन गरेर निर्वाचनसम्बन्धी जिज्ञासा राख्न सकिनेछ। एकैपटक धेरै फोन आए पनि अधिकतम १५ जनासम्मको कल होल्ड नगरी सेवा दिने व्यवस्था गरिएको छ।

सोमबारदेखि सुरु भएको यो कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने अवधिसम्म सञ्चालनमा रहने आयोगले जनाएको छ।

तपाईको प्रतिक्रिया