फागुन २१ कै मितिमा निर्वाचन अपरिहार्य : शेखर कोइराला

मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन हुनुपर्नेमा जोड दिएका छन्। उनले फागुन २१ गते नै निर्वाचन हुनुपर्ने स्पष्ट धारणा व्यक्त गरेका हुन्।

मोरङको सुन्दरहरैंचा नगरपालिका–४ मा स्थानीय नेताहरूसँग भएको भेटघाटका क्रममा कोइरालाले पार्टी पंक्तिलाई निर्वाचनको तयारीमा जुट्न आग्रह गरे। प्रजातन्त्रको आधार नै निर्वाचन भएकाले कांग्रेस निर्वाचन प्रक्रियामा जान प्रतिबद्ध रहेको उनको भनाइ थियो।

उनले संविधानको रक्षा र मुलुकलाई विद्यमान संक्रमणकालीन अवस्थाबाट बाहिर ल्याउन निर्वाचन नै प्रमुख उपाय भएको बताए। “हामी निर्वाचनको मिति पर्खेर बसेका छौं, तर सरकारको तयारी हेर्दा निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने शंका उत्पन्न भएको छ,” कोइरालाले भने।

सरकारले निर्वाचन अनुकूल वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले सुरक्षा र व्यवस्थापनका विषयमा गम्भीर प्रश्न उठाए। “केही राजनीतिक दलका नेताहरू काठमाडौं बाहिर जान नपाउने अवस्था छ, लुटिएका हतियार अझै बाहिर छन्, कैदीहरू नियन्त्रणबाहिर छन्। यी विषयमा सरकारको स्पष्ट योजना के हो?” उनले प्रश्न गरे।

कोइरालाले समयमै निर्वाचन सुनिश्चित गर्न सरकार जिम्मेवार र गम्भीर हुनुपर्ने आवश्यकता औंल्याए।

तपाईको प्रतिक्रिया