प्राधिकरणले ३५ उद्योगबाट उठायो २३ करोड, बाँकी बक्यौता ५ अर्ब ७० करोड


काठमाडौं ।लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंकलाइन संरचनाबाट विद्युत् उपभोग गरेका उद्योगहरूले प्रिमियम महसुल तिर्न थालेका छन्। नेपाल विद्युत् प्राधिकरणका अनुसार २५ नयाँ उद्योगले पहिलो किस्ता बुझाएका छन् भने यसअघि किस्ताबन्दी सुरु गरी रोकेका १० उद्योगले पनि भुक्तानीलाई निरन्तरता दिएका छन्।

यसरी हालसम्म प्राधिकरणले ३५ उद्योगबाट कुल २३ करोड ८७ लाख ७२ हजार रुपैयाँ असुल गरेको जनाएको छ। यी उद्योगहरूको कुल बक्यौता रकम पाँच अर्ब ९४ करोड ५६ लाख रुपैयाँ रहेकोमा अझै पाँच अर्ब ७० करोड ६८ लाख रुपैयाँ असुल गर्न बाँकी छ।

उक्त बक्यौता रकम आर्थिक वर्ष २०७२ माघदेखि २०७५ वैशाखसम्मको अवधिमा डेडिकेटेड र ट्रंकलाइनमार्फत गरिएको विद्युत् उपभोगबापतको प्रिमियम महसुल हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले उद्योगीहरूले राज्यप्रतिको दायित्व बुझ्दै बक्यौता तिर्न थालेकोमा सन्तोष व्यक्त गरे। उनले उद्योगीहरूले किस्ताबन्दीलाई निरन्तरता दिने विश्वास व्यक्त गर्दै भने,

“उद्योगहरूका जायज मागलाई सम्बोधन गर्न हामी सधैं तयार छौं। तर, किस्ताबन्दी सुरु गरेपछि त्यसलाई पूरा गर्ने जिम्मेवारी उद्योगीहरूको नै हो।”

नेपाल विद्युत् प्राधिकरणले यसअघि असोजमा २१ दिनको समयसीमा दिँदै बक्यौता रकम तिर्न सार्वजनिक सूचना जारी गरेको थियो। उक्त अवधिमा पनि रकम नतिरेपछि प्राधिकरणले कात्तिक ४ र ७ गते दुई चरणमा लाइन काट्ने कारबाही गरेको थियो।

तपाईको प्रतिक्रिया