प्रविधिको प्रयोगमार्फत विकास र उद्यमशीलता अघि बढाउनु पर्ने प्रधानमन्त्रीको सुझाव

फाइल

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको प्रभावकारी उपयोग गर्दै विकास र उद्यमशीलतालाई तीव्र रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित पाँचौं राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनलाई आज सम्बोधन गर्दै उनले मुलुकको समृद्धिका लागि उद्यमशीलता अपरिहार्य भएको बताए।

प्रधानमन्त्री ओलीले भित्र्याउने रोजगारीका अवसर उद्यमशीलताको विस्तार बिना सम्भव नहुने स्पष्ट पारे। उनले भने, “सरकारी रोजगारी सीमित छन्। कतिबेला को सेवा निवृत्त हुन्छ र कहिले पद खुल्छ भन्ने निश्चित हुँदैन। लोकसेवाबाट विज्ञापन खुल्ने प्रक्रियामा पनि समय लाग्छ। त्यसैले व्यापक रोजगारी सिर्जना उद्यमशीलता विकासबाट मात्र सम्भव छ।”

उनको भनाइमा, रोजगारीको मुख्य स्रोत सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्र हुनुपर्नेछ। निजी क्षेत्रलाई सक्रिय बनाएर मात्र दिगो रोजगारी सुनिश्चित गर्न सकिने उनले बताए।

प्रधानमन्त्री ओलीले सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्यसहित अघि बढिरहेको उल्लेख गर्दै, राष्ट्रिय आकांक्षाको सफल कार्यान्वयनका लागि सबै पक्षलाई एकताबद्ध भएर लाग्न आग्रह गरे।

तपाईको प्रतिक्रिया