प्रधानमन्त्रीको पहलमा सिंहदरबारमा शीर्ष तीन दलका नेताबीच छलफल जारी

काठमाडौं । संसदमा उत्पन्न गतिरोधका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा सत्तारुढ र प्रमुख विपक्षी दलका शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल जारी रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी उक्त छलफलमा प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा गृहमन्त्री रमेश लेखक सहभागी छन्।

भिजिट भिसा प्रकरणका कारण गृहमन्त्री लेखकको राजीनामाको माग गर्दै विपक्षी दलहरूले संसद अवरुद्ध गर्दै आएका छन्। उनीहरूको अडान छ— गृहमन्त्रीको राजीनामा नभएसम्म संसद चल्न सक्दैन।

प्रतिपक्षीको यथास्थितिमा प्रधानमन्त्री ओलीले राजनीतिक संवादमार्फत निकास खोज्ने प्रयासस्वरूप शीर्ष नेताहरूलाई छलफलमा आमन्त्रण गरेका हुन्। यसबीच, नेकपा (एमाले) र नेपाली कांग्रेसले भने लेखकको राजीनामा मागलाई अनावश्यक मुद्दा भन्दै सदन अवरुद्ध गर्नु लोकतान्त्रिक अभ्यासविपरीत रहेको टिप्पणी गरेका छन्।

तपाईको प्रतिक्रिया