प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्धको रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्तिविरुद्ध दायर रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ।

सर्वोच्च अदालतका प्रवक्ताका अनुसार उक्त रिटको सुनुवाइका लागि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा गठन गरिएको संवैधानिक इजलासमा न्यायाधीशहरू सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा र शारङ्गा सुवेदी रहेका छन्।

गत आइतबार अधिवक्ता डा. पुण्यप्रसाद खतिवडाले प्रधानमन्त्री कार्कीको नियुक्ति बदर गर्न माग गर्दै रिट दायर गरेका थिए। उनले राष्ट्रपति रामचन्द्र पौडेलले संविधानविपरीत पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्री नियुक्त गरेको दाबी गरेका छन्।

रिटमा भनिएको छ कि संविधानले पूर्वप्रधानन्यायाधीश भइसकेको व्यक्तिलाई प्रधानमन्त्री बन्ने अनुमति नदिएको प्रष्ट प्रावधान छ। त्यसैले भदौ २७ गते राष्ट्रपति पौडेलले कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्दै धारा ८० अनुसार शपथ गराउनु संविधानको धारा ७६ र १३२(२) को ठाडो उल्लङ्घन भएको हो।

रिट निवेदनमा राष्ट्रपति कार्यालय शीतल निवासलाई समेत प्रतिवादी बनाइएको छ।

स्मरणीय छ, जेनजी समूहको सिफारिसमा सुशीला कार्की प्रधानमन्त्री बनेकी थिइन्। अब सर्वोच्च अदालतको संवैधानिक इजलासले यो नियुक्तिको संवैधानिक वैधता सम्बन्धी मुद्दामाथि प्रारम्भिक सुनुवाइ गर्नेछ।

तपाईको प्रतिक्रिया