प्रधानमन्त्री ओलीले आज कोशी प्रदेशसभाको बैठकमा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार कोशी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन्। बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ, र प्रधानमन्त्री ओलीले यसमा सम्बोधन गर्ने कोशी प्रदेशसभा सचिवालयका कार्यवाहक सचिव गौतमराज अमात्यले जानकारी दिएका छन्।

प्रदेशसभा सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीको सम्बोधनका सबै तयारीहरू पुरा भइसकेका छन्। ओलीले यसअघि कर्णाली र सुदूरपश्चिम प्रदेशसभाका बैठकलाई पनि सम्बोधन गरेका थिए।

प्रदेशसभा बैठकमा सत्तारुढ दल नेकपा (एमाले) र नेपाली कांग्रेसले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिको निर्देशन दिएका छन्। तर, नेकपा (माओवादी केन्द्र)सहितका प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सम्बोधनको औपचारिक जानकारी नपाएको कारण बैठकमा उपस्थित नहुने चेतावनी दिएका छन्। प्रतिपक्षी दलको यस्तो प्रतिक्रिया पछि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दलका नेतालाई सम्पर्क गरेर सहयोग गर्न आग्रह गरेका छन्।

प्रधानमन्त्री ओली प्रदेशसभा बैठकको अगाडि मोरङको सुन्दरहरैँचामा स्थित पूर्वाञ्चल विश्वविद्यालयको १३ औं दीक्षान्त समारोहमा सहभागी हुने छन्। त्यसपछि उनले प्रदेशसभा बैठकलाई सम्बोधन गर्न विराटनगर जाने कार्यक्रम तय भएको छ। उनले बिहान १० बजे मोरङको सुन्दरहरैँचामा रहेको विश्वविद्यालय परिसरमा पुग्ने सुरक्षा स्रोतले जनाएको छ। त्यसपछि, ११:३० बजे उनले विश्वविद्यालय परिसरमा निर्माण भएको गिरिजाप्रसाद कलेज अफ एग्रिकल्चर रिसर्च शैक्षिक भवनको उद्घाटन गर्नेछन्।

त्यसपछि, पूर्वाञ्चल विश्वविद्यालयको कलेज अफ हेल्थ एण्ड साइन्स शैक्षिक भवनको उद्घाटन गर्ने कार्यक्रम पनि छ। दिउँसो १२ बजे ओली पूर्वाञ्चल विश्वविद्यालयको ४० औं विशेषसभा बैठक र १३ औं दीक्षान्त समारोहमा सहभागी हुनेछन्। दिउँसो साढे २ बजे उनले कोशी प्रदेशसभालाई सम्बोधन गर्नेछन् र त्यसपछि साढे ४ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री ओलीको आगमनसँगै मोरङको सुरक्षा व्यवस्था कडा बनाइएको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार, सुन्दरहरैँचा र विराटनगरमा सुरक्षा व्यवस्था मजबुत पारिएको छ।

तपाईको प्रतिक्रिया