प्रधानमन्त्री ओलीको सुझाव: “२० वर्षपछि विवाह, ३० भित्र तीन सन्तान”

काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धिको गतिसँगै जनसङ्ख्याको सन्तुलित वृद्धि आवश्यक भएको बताउँदै नागरिकलाई २० वर्षपछि विवाह गर्न र ३० वर्ष पुग्दासम्म तीन सन्तान पाइसक्न सुझाव दिएका छन्।

विश्व जनसङ्ख्या दिवस–२०८२ को अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले भने, “जनसङ्ख्या बिना देश हुँदैन, मानव जातिको अस्तित्व संकटमा पर्न सक्छ, त्यसैले समयमा विवाह गर्नुपर्छ र सन्तान उत्पादनमा ढिला गर्नु हुँदैन।”

प्रधानमन्त्री ओलीले जनसङ्ख्या र विकासबीच सन्तुलन नभए मानव जातिको भविष्य संकटमा पर्न सक्ने धारणा राखे। उनले भने, “सिर्जनात्मक सन्तुलन नभइकन समृद्धि सम्भव हुँदैन। जनसङ्ख्या विनासका हतियार बनाउँदै, गोष्ठीमा बोलेर मात्रै सम्भव हुँदैन। सन्तुलन कायम राख्न सबैले उत्तरदायित्वपूर्वक व्यवहार गर्नुपर्छ।”

ओलीको भनाइमा, सन्तान जन्माउने विषय केवल व्यक्तिगत रोजाइको होइन, धर्ती र मानव सभ्यताप्रति उत्तरदायित्वसमेत हो

कार्यक्रममा प्रधानमन्त्री ओलीले विवाह ढिलो गर्ने संस्कृतिप्रति पनि चिन्ता व्यक्त गरे। “सरकारले २० वर्षपछि मात्र विवाह गर्न कानुनी व्यवस्था गरेको छ, तर त्यसपछि विवाह ढिलो गर्दै, ‘चालीस कटेपछि रमाउँला’ भन्ने गीत गाएर समय गुजार्नु हुँदैन,” उनले भने।

उनले विकासशील मुलुक मात्र होइन, विकसित मुलुकहरूमा समेत जनसङ्ख्या ऋणात्मक भएकाले मानव अस्तित्वमा खतरा देखिएको तर्क गरे। “त्यसैले हामीले समयमै नीति लागू गरेर सन्तुलित जनसङ्ख्या विकासतर्फ लाग्नुपर्छ”, उनले जोड दिए।

कार्यक्रममा राष्ट्रिय जनसङ्ख्या नीति २०८२ सार्वजनिक गरिएको थियो। प्रधानमन्त्री ओलीले सो नीतिको प्रभावकारी कार्यान्वयनमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सबैलाई सहयोग गर्न आग्रह गरे।

उनको भनाइमा, “उचित जनसङ्ख्या व्यवस्थापन बिना सामाजिक, आर्थिक वा भौतिक विकास केवल आकांक्षा बन्न सक्छ। मानव अस्तित्व जोगाउन नीति कार्यान्वयन अत्यावश्यक छ।”

तपाईको प्रतिक्रिया